विभेद विरूद्धको संघर्ष जारी : ठाकुर

राजनीति

काठमाडौं, १२ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेद विरूद्धको लडाई जारी नै रहेको बताएका छन् ।

राज्यले मधेशी जनतासँग गर्दै आएको विभेदविरूद्ध आफूहरू निरन्तर संघर्ष गरिरहेको बताएका हुन् ।

सर्लाहीको गोडैता नगरपालिकाको रामवनमा दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् । ‘मधेशी जनतासँग राज्यले विभेद गर्दै आएको छ । सोको विरूद्धमा हामी निरन्तर लडिरहेका छौं,’ उनले भने ।

उनले सीमा क्षेत्रमा बस्ने मधेशी जनता विभिन्न समस्या भोग्दै आएको बताए । न्यायालयमा देखिएको दबाबबारे बोल्दै न्यायाधीशहरू आफैमा लड्ने गरेको र त्यसको प्रत्यक्ष मारमा आम जनता पर्न थालेको टिप्पणी गरेका हुन् ।

उनले न्यायाधीशहरू आफैमा विवाद गर्न थालेपछि जनतालाई कसले न्याय दिने भनेर जिकिर गरेका थिए ।

संसद अवरूद्ध रहेको बताउँदै अध्यक्ष ठाकुर अहिलेको सरकार बहादुर सरकार रहेको कटाक्ष गर्दै तीन महिनामा मन्त्रिपरिषद्लाई पूर्णता दिने सरकारको काम कर्तव्य जनता माझ प्रष्ट भएको समेत बताएका थिए ।

यसैगरी, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो मधेशीसँग राज्यले गर्ने विभेदका कारण देशकै सबभन्दा पुरानो हुलाकी सडक बन्न नसकेको बताए । राज्यले गर्ने विभेदका कारण आज मधेशी पछाडि परेको उनले आरोप लगाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ