कांग्रेसमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता : वरिष्ठ नेता पौडेल

राजनीति

जनकपुरधाम, १५ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् । संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको उनले टिप्पणी गरे ।

उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागेको बताए । ‘देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्छ,’ उनले भने ।

पौडेलले पार्टीको नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता भएको बताए ।

‘पार्टीमा अहिलेको आवश्यक्ता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको उनले भने, ‘रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार, कसले राम्रो ल्याउँछ । र, कसले यो राष्ट्र हाँक्न सक्छ कसले प्रतिपक्षीको सामना गर्न सक्छ त्यस्तो नेतृत्व चाहिएको छ ।’

उनले युवा, महिला, मधेशी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको आवश्यक्ता भएको बताए । पार्टी सभापति कसैलाई भागबण्डामा बनाउने कुरा नभएको भन्दै पौडेलले कसलाई सभापति बनाए पार्टी अझ बलियो हुन्छ भन्ने कुरा कार्यकर्तामै छाडिदिनुपर्ने बताए ।

अहिले पार्टी नै अस्तव्यस्त रहेको भन्दै उनले अहिले पार्टी व्यवस्थित गर्नकै लागि लडाइ लडिरहेको उल्लेख गरे । ‘यो पार्टी व्यवस्थित भएपछि लोकतन्त्र पनि व्यवस्थित हुन्छ’ उनले भने, ‘अहिलेको लडाइ भनेकै कांग्रेस व्यवस्थित गर्नु हो ।’

पार्टीको महाधिवेसन गर्ने मंसिर २४ देखि २६ सम्मको कार्यतालिका नै अन्तिम भएको भन्दै यो समयमा महाधिवेशन हुने बताए । ‘यो नै अन्तिम कार्यतालिका हो । यसमा फेरबदल हुँदैन् । तलमाथि हुन सक्दैन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ