विमलेन्द्र निधिले मंसिर २१ गते सभापतिका लागि उम्मेदवारी दिने 

राजनीति

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन् । मंसिर २१ गते सभापतिका लागि मनोनयन दर्ता गर्ने निधिले बताए ।

‘मंसिर २१ मा सभापतिका लागि उम्मेदवारी दिँदै मनोनयन दर्ता गर्छु,’ बानेश्वरमा उम्मेदवारी घोषणा तथा प्रतिवद्धता पत्र सार्वजनिक गर्दै निधिले भने, ‘१३ औं महाधिवेशनमा उठ्नुभएका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला यसपालि नउठिदिए राम्रो ।’

कांग्रेसले मंसिर २१ मा केन्द्रीय सदस्य र पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्न समय दिएको छ । कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्दैछ ।

आफू सभापतिमा उम्मेदवारी दिने र आफूलाई सभापतिदेखि वरिष्ठ नेताहरूले समर्थन गर्दा राम्रो हुने निधिले बताए ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलले सभापतिमा उम्मेदवारी दिनुभएन भने हामी उहाँहरूलाई सर्वोच्च नेताका रूपमा राख्छौं ।उहाँहरूले नै भनेअनुसार पार्टी चलाउँछौं,’ निधिले भने ।

उनले पार्टीमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका एजेन्डासमेत प्राथमिकताका साथ अगाडि सारेका छन् । सभापतिमा उठ्नेबारे आफूले पटकपटक सभापति देउवा र अन्य सभापतिका आकांक्षी नेताहरूलाई जानकारी गराइसकेको पनि निधिले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ