कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादवको उम्मेदवारी घोषणा

राजनीति

जनकपुरधाम, १७ मंसिर । नेपाली कांग्रेस प्रदेश २ का सभापतिमा कृष्ण यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश सभापतिमा चार आकांक्षी मध्ये अन्य दुई आकांक्षीको सहमतिमा यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

जनकपुरधाम शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै रौतहटका जिल्ला सभापतिसमेत रहेका यादवले देउवा समूहबाट आफू उम्मेदवारी दिने घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारी दिने घोषणा गरेका यादव आफू शेरबहादुर देउवाको समूहबाट सर्वसम्मत रुपमा उम्मेदवारी दिन लागेको बताए ।

प्रदेश सभापतिका आकांक्षी महोत्तरीका जिल्ला सभापति महेन्द्र यादव, सप्तरीका सभापति दिनेश यादव, धनुषाका रामसरोज यादव र रौतहटका कृष्णा यादव रहेकोमा रामसरोजबाहेक दुई आकांक्षी आफूलाई समर्थन गरेको दाबी गरे ।

यद्यपी उम्मेदवारी घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सप्तरीका सभापति अनुपस्थित थिए । सप्तरीका सभापति जनकपुरधाम आउन नसकेर पत्रकार सम्मेलनमा सहभागी हुन नसकेको देउवा समूहले जनाएको छ ।

महोत्तरीका जिल्ला सभापति, प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजाल, आनन्द प्रसाद ढुंगाना, महेन्द्र यादव, चित्रलेखा यादवको उपस्थितिमा कृष्णा यादवले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता रिजालले पौडेल पक्षलाई समेत समेटने अहिले पूरा प्यानलको घोषणा नगरेको समेत बताए । नेता रिजालले भने, ‘हामी पौडेल पक्षसँग पनि छलफलमा छौँ । सहमति भएसँगै अधिवेशनमा जान्छौँ । तर सभापतिमा भने कृष्णा नै रहेछन् ।’

प्रदेश २ मा अब शेरबहादुर देउवा र विमलेन्द्र निधिपक्ष प्रतिस्पर्धी भएका छन् । निधि पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादवले आफू उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ