अन्ततः प्रदेश २ को स्थायी राजधानी जनकपुर

राजनीति

काठमाडौं, ३ माघ । प्रदेश २ को स्थायी राजधानी धनुषाको जनकपुर टुंगो लागेको  छ । प्रदेशको स्थायी राजधानीका बारेमा दलीय सहमति जुट्न नसकेपछि सोमबार प्रदेशसभामा भएको मतदानमा स्थायी राजधानी जनकपुर दुईतिहाइ बहुमतले पारित भएको हो ।
मतदानमा हाल अस्थायी राजधानीका रूपमा रहेको ऐतिहासिक नगर जनकपुरको पक्षमा ७८ मत परेको र उक्त मत प्रदेशसभाको दुईतिहाइ मत भएकोले उक्त प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।
सभामुख यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र  राजधानीका लागि तीनवटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान भएको हो ।
प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेशसभामा दुईतिहाइ बहुमत आवश्यक पर्छ ।  सत्तारूढ जनता समाजवादी पार्टी, माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गर्दा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यही प्रस्तावलाई समर्थन गरेको छ । १०७ सदस्यीय प्रदेशसभामा दुईतिहाई मतका लागि  ७० सदस्य चाहिन्छ । यसअघि गत २०७७ चैत ५ गते प्रदेश २ को राजधानी र नामकरणको विषयमा प्रदेशसभामा भएको मतदान भएको थियो । त्यतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सहमति नजिक पुगेका राजनीतिक दलहरुबीच नामकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाट दुवै विषय टुंग्याउने भन्दै मतदान गरेका थिए ।
तत्कालीन बैठकमा पनि दुईतिहाई बहुमत नपुगेपछि राजधानी र नामकरणको प्रस्तावसमेत पारित हुन असफल भएको थियो ।

Download Attachment

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ