लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि एमाले र लोसपाले सहकार्य गर्ने

राजनीति

काठमाडौं, १० माघ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले माघ १२ गतेको राष्ट्रिय सभाको निर्वाचनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सहकार्य गर्ने भएको छ ।

ती दुवै पार्टीले यसअघि मधेश प्रदेशमा सहकार्य गर्ने सहमति गरिसकेको छ । सहमतिअनुसार लोसपाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेका उम्मेदवारलाई मत दिने छ ।

राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा एमालेसँग सहकार्य गर्ने लिखित सहमति भएसँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि सहकार्य गर्ने मौखिक सहमति भएको लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले बताए ।

‘एमालेसँगको यो सहमति आगामी निर्वाचनसम्म जाने सम्भावना छ,’ नेता सोनालले भने । एमाले र लोसपाको सहकार्य यो पहिलो पटक भने होइन ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उनलाई जोगाउन महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसंह भण्डारी, अनिल झा लगायतका नेताहरुले धेरै प्रयास गरेका थिए । उनीहरु सरकारमै गएका थिए ।

ठाकुर र महतोले ओलीलाई सघाएवापत् तत्कालीन जनता समाजवादी पार्टी विभाजन भयो र ठाकुर महतो लगायतका नेताहरु जसपाबाट अलग भए । त्यसपछि उनीहरुले लोसपा गठन गरे । 

ओली सरकार विघटन पछि पनि एमाले र लोसपाबीचको सम्बन्ध यथावत् छ । एमाले र लोसपाका नेताहरुले सार्वजनिक रुपमा एक अर्कोलाई गाली र आलोचना गर्ने गरेका छैनन् । ओली प्रधानमन्त्रीबाट हटे पनि ओलीलाई भेट्न ठाकुर र महतो बेला बेलामा ओली निवास बालकोट जाने गर्छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ