मधेश राज्य प्राप्त भएपनि स्वायत्तताको संघर्ष जारी छ : अध्यक्ष ठाकुर

राजनीति

जनकपुरधाम, ११ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले प्रदेशको नामकरण मधेश भएपछि खुसी व्यक्त गरेका छन् । 

सोमबार जनकपुरधाममा लोसपाले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ठाकुरले मधेश नामकरणबाट इतिहास रचेको बताएका हुन् ।

उनले मधेश ८ वटा जिल्लामा सीमित नभएको समेत बताए । उनले भने, ‘मधेशी संस्कृति बोकेका पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेश हो ।’

उनले भने, ‘मधेश ८ जिल्लामा मात्रै सीमित रहेको भनेर बुझ्नु हुँदैन । पूर्वदेखि पश्चिमसम्म मधेशी संस्कृति र जीवन पद्धति बोकेको सबै क्षेत्र मधेश हो । तर एक राज्यको रूपमा तपाईंहरूले मान्यता प्राप्त गर्नुभएको हो ।’

उनले राष्ट्रका लागि भाषा र संस्कृति मात्र पर्याप्त नभएर आफ्नो राज्य पनि जरूरी रहेको बताए । मधेश राज्य प्राप्त भएपनि स्वायत्तताको संघर्ष जारी नै रहेको उनले बताए । 

अहिले पनि सबै अधिकार केन्द्रसँगै रहेकाले स्वायत्तता प्राप्तिका लागि संघर्ष आवश्यक रहेको बताए । उनले, ‘स्वायत्त मधेश प्रदेश बनाउने सरकारसँग भएको हाम्रो सम्झौता अझै पूरा भएको छैन ।’

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ