काठमाडौं, २७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले देशभरका सबै वडा र पालिकामा तदर्थ समिति गठन गर्न सर्कुलर जारी गरेको छ ।
अध्यक्ष महन्थ ठाकुरले बुधबार ७७ वटै जिल्ला कार्यसमितिलाई फागुन २० गतेसम्म गाउँपालिका, नगरपालिका र वडामा तदर्थ कमिटी गठन गर्न परिपत्र गरेका हुन् ।
पालिकामा संयोजक तोकेर तदर्थ समिति गठन गर्ने र त्यसको विवरण केन्द्रमा पठाउन भनिएको छ । त्यहीँ तदर्थ समितिमार्फत वडा समिति गठन गर्न गरेर जिम्मेवारी दिन परिपत्र गरिएको छ ।
पालिका र वडा समिति गठन गर्दा समावेशिताको सिद्धान्तअनुसार यथाशक्य सबैलाई समेट्न निर्देशन दिँदै त्यसका लागि आवश्यक परे विधानमा तोकिएको संख्यामा ५० प्रतिशतसम्म थप गरी गठन गर्न सकिने उल्लेख छ । साथै उपमहानगरपालिका र महानगरपालिको तदर्थ समिति भने केन्द्रबाट गठन गरिने परिपत्रमा उल्लेख छ ।
जनता समाजवादी पार्टीबाट अलग भएर महन्थ ठाकुर र राजेन्द्र महतो समूहले भदौ ९ गते लोसपा निर्वाचन आयोगमा दर्ता गराएको थियो ।
सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचन मिति तोकेपछि लोसपाले संगठन विस्तारको कामलाई तीव्रता दिँदै चुनावी तयारी थालेको छ ।
तपाईको प्रतिक्रिया