काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् । अधिवेशन सम्पन्न भएका जिल्लाहरुमा चितवन, सिन्धुली, बाँके, नवलपरासी, महोत्तरी, कैलाली, मकवानपुर र पर्सा छन् ।
चितवन, सिन्धुली, बाँके र नवलपरासीको जिल्ला सभापतिमा नेता शेखर कोइराला पक्षका उम्मेदवार विजयी भएका हुन् ।
चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा विजयी महेन्द्रध्वज जिसी विजयी भएका हुन् ।
महोत्तरीमा पनि पहिलो चरणमा कसैको बहुमत नआएपछि दोस्रो स्थानमा रहेका सुशील यादवले समर्थन गरेपछि पहिलो स्थानमा रहेका नागेश्वर यादव स्वतः सभापति चुनिएका थिए ।
कैलालीका नारायणदत्त भट्ट, मकवानपुरका बुद्ध लामा र पर्साका जनार्दनसिंह क्षत्री विजयी भएका हुन् । उनीहरु संस्थापन पक्षका हुन् ।
कांग्रेसको १४औं महाधिवेशनअघि जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन ।
आइतबारसम्म आठ जिल्लाको अधिवेशन सकिएको हो भने आठ जिल्लाको बाँकी छ । अब सिरहा, सप्तरी, धनुषा, अछाम, रौतहट, बारा, सर्लाही र सिन्धुपाल्चोकमा अध्यक्ष चयन बाँकी छ ।
तपाईको प्रतिक्रिया