जनकपुरधाम, १० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले माओवादी हारे देश हार्ने र सहिदको सपनामाथि कुठाराघात भई संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने दाबी गरेका छन् ।
जनकपुरधाममा चुनाव लक्षित मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिहरू माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेको समेत दाबी गरे ।
‘आगामी निर्वाचन अन्य दलका लागि निर्वाचन हुन सक्छ तर हाम्रा लागि लडाइँ हो। त्यसैले लडाइँकै हिसाबले तयारी गर्नुस् । गठबन्धन गरेर चुनाव जितौँला भन्ने मानसिकता बदल्नुस्, उनले भने ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ठूलो लडाइँको रूपमा लिन नेता–कार्यकर्तासँग आग्रह गर्दै अध्यक्ष प्रचण्डले सोहीअनुसार योद्धा जस्तै चुनावको तयारीमा जुट्न निर्देशन दिए ।
अध्यक्ष प्रचण्डले माओवादीकै कारण देश संघीय लोकतान्त्रिक गणतन्त्र बनेको र समानुपातिक, समावेशिता लागू भएको चर्चा गरे । उनले संघीयताको जननी र संरक्षक मधेशी जनता नै भएको दाबी गरे ।
उनले देशमा भएको ठूलठूला परिवर्तनमा मधेशी जनताको महत्वपूर्ण योगदान रहेको बताए । अध्यक्ष प्रचण्डले काठमाडौंबाट आफू पराजित भए पनि सिरहाबाट विजयी भएर दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर पाएको स्मरण गरे ।
माओवादी केन्द्रका मधेश प्रदेश प्रदेश इन्चार्ज गणेश साहको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठ, मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, रामकुमार शर्मा, दिलिप साह लगायत सहभागी थिए ।
तपाईको प्रतिक्रिया