राजसंस्था पुनःस्थापनको सम्भावना छैन : कमल थापा

राजनीति

वीरगन्ज, १४ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्रको एजेण्डा लिएर जनतामाझ जाने बताएका छन् । वीरगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अब नेपालमा राजसंस्था पुनःस्थापनको सम्भावना नरहेको बताए । त्यही भएर पार्टीले हिन्दू राष्ट्रको एजेण्डा लिएर जनतामा माझ जाने उनले प्रस्ट्याए ।
नेपालका ९४ प्रतिशत जनता हिन्दू रहेको र हिन्दू राष्ट्रकै एजेण्डाले राप्रपा नेपाललाई मुलुकको शक्तिशाली राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने जिकिर उनले गरे । भारतमा भारतीय जनता पार्टीले हिन्दू धर्मकै एजेण्डा बोकेका कारण अहिले सबैभन्दा ठूलो शक्ति बनेर शासन सत्ता चलाइरहेको उदाहरण दिँदै उनले भने, ‘नेपालमा पनि अब राप्रपा नेपालले हिन्दू राष्ट्रको एजेण्डा लिएर शक्तिशाली शक्ति बन्ने छ ।’
२०७० सालको निर्वाचनमा तेस्रो शक्तिका रुपमा राप्रपा नेपाल स्थापित भए पनि पार्टीलाई अझ ठूलो बनाउने महत्वकांक्षा राखेर गलत प्रवृतिसँग गलत सम्झौता गरेका कारण २०७४ को निर्वाचनमा पार्टीले ठूलो पराजय व्यवहोरेको उनले स्वीकारे ।
‘त्यसबेला हामीले गलत प्रवृतिसँग सम्झौता ग¥यौं । राजनीतिक बाटो विरायौं । त्यसैले २०७४ को निर्वाचनमा पराजय भोग्यौं । त्यस बेलाको गल्ती म सहर्ष स्वीकार्छु,’ उनले भने ।
त्यही गल्तीको आत्मआलोचना गर्दै अहिले आफूहरुले नयाँ सोचका साथ राप्रपा नेपाललाइ पुनर्जागृत गर्नुपरेको उनले बताए । हिन्दू राष्ट्र, लोकतन्त्र, सुशासन र समृद्धि राप्रपा नेपालको एजेण्डा रहेको र यिनै एजेण्डा लिएर आगामी निर्वाचनमा जनतामाझ जाने उनले बताए । आगामी स्थानीय तहको निर्वाचनमा राप्रप नेपालले ७५३ वटै स्थानमा चुनाव लड्ने पनि उनले बताए ।

 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ