नेपालगञ्ज, २४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पाँचदलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र सफल हुने बताएका छन् ।
एमाले बाँकेले नेपालगञ्जमा गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवाद भने पनि यिनै पाँचदलीय गठबन्धन हुन् । यिनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुन्छन् । देश फेरि पछाडि पर्छ ।’
उनले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको बताए । उनले भने, ‘एमाले सरकारबाट हटेपछि अर्थतन्त्र ध्वस्त भएको छ। लगानी गर्ने पूँजी छैन । उद्योगी व्यवसायीलाई ऋण दिने पैसा छैन। लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन । देशलाई झन् गरीब हुनबाट बचाउन सकिँदैन । देशको लोकतन्त्र र विकास निर्माणको काम ध्वस्त हुनेछ। यी सबै समस्याबाट पार लगाउन आगामी चुनावमा एमालेलाई जिताउनु पर्छ ।’
ओलीले हालै बाँकेको नरैनापुरमा आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक–एक लाख रुपैयाँ दिने घोषणा गरे ।
तपाईको प्रतिक्रिया