रुपन्देही, १५ बैशाख । रुपन्देहीमा बुटवल उपमहानगरपालिका बाहेकका पालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ । ती पालिकामा गठबन्धनकै घटकबीच दुई दलीय गठबन्धन बनाएर तालमेल गरिँदैछ ।
सुरुमा ५ दलीय गठबन्धनभित्र जिल्लाका विभिन्न ६ वटा स्थानीय तहमा मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने सहमति भए पनि बुटवल बाहेकका स्थानीय तहमा एकपछि अर्को उप गठबन्धन बन्ने क्रम जारी छ ।
बुटवल उपमहानगरपालिका बाहेकका अन्य पालिकामा एकीकृत समाजवादी गठबन्धनबाट एक्लिएको छ । एकीकृत समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिन बहादुर गुरुङलाई उम्मेदवार बनाएको छ भने अन्य १५ वटै स्थानीय तहमा एकल रुपमा उम्मेदवारी दर्ता गरेको छ ।
एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले बुटवल उपमहानगरमा गठबन्धन कायम भए पनि अन्य पालिकामा एकीकृत समाजवादीले कतै एक्लै, कतै माओवादी र जसपासँग गठबन्धन गरेको बताए ।
धेरैजसो पालिकामा गठबन्धनभित्र पद बाँडफाँटमा कुरा नमिल्दा एकल रुपमा उम्मेदवारी दिनुपर्ने अवस्था आएको उनले बताए ।
रुपन्देहीमा नेकपा एकीकृत समाजवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी नौ जना, उपप्रमुख र उपाध्यक्ष गरी आठ उम्मेदवारी दर्ता गराएको छ । उनका अनुसार १६ वटै स्थानीय तहमा वडाअध्यक्षसहित सदस्यको मनोनयन दर्ता भएको छ ।
तपाईको प्रतिक्रिया