कांग्रेस धोका खान सक्छ तर अरुलाई दिँदैन : देउवा

राजनीति

विराटनगर, २२ बैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका नदिने गरेको बताएका छन् ।

नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले यो पटक कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिलाएर न्याय गरेको बताए ।

देउवाले गठबन्धनमा इमान्दार भएर मतदान गर्न आग्रह गर्दै कांग्रेसले प्रतिबद्धता जनाएपछि कसैलाई पनि धोका नदिने गरेको जिकिर गरे ।

देउवाले गठबन्धनबाट विराटनगरको प्रमुखका उम्मेदवार नागेश कोइराला उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव दुवै जना युवा भएकाले विराटनगरवासीले चाहेअनुसार नै विकास हुने बताए ।

कोइराला कांग्रेसमा शेखर कोइराला पक्षीय नेता हुन् भने यादव जसपा अध्यक्ष उपेन्द्र यादवका पुत्र हुन् ।

नेकपा एमालेको दम्भ र घमण्डलाई परास्त गर्न कांग्रेसहितका गठबन्धनका उम्मेदवारले जित्नुपर्नेमा उनको जोड थियो । सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ