लोसपाका उम्मेद्वारको उम्मेदवारी खारेज

राजनीति

कपिलवस्तु, २२ बैशाख । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले नगरप्रमुख र उपप्रमुखमा पुरुषलाई उम्मेदवार बनाएपछि निर्वाचन आयोगले दुवैको उम्मेदवारी रद्द गरेको छ ।

स्थानीय तह निर्वाचन ऐनमा प्रमुख पदमा ५० प्रतिशत महिला उम्मेदवार रहने गरी उम्मेदवारी पेस गर्नु पर्ने प्रावधान रहेकामा त्यस विपरीत भएकाले उम्मेदवारी खारेज गरिएको हो ।

नगर प्रमुखमा लोसपाबाट शिवप्रसाद कलवार र उपप्रमुखमा मोहम्मद अफजल मियाको उम्मेदवारी परेको थियो ।

दुवैको उम्मेदवारी खारेज भएको कृष्णनगरका निर्वाचन अधिकृत सुमन पाण्डेले बताए । प्रमुख पदमा उम्मेदवारी दिएका कलवारले ०७४ मा माओवादी केन्द्रबाट नगर प्रमुखमा चुनाव लडेका थिए ।

त्यसपछि बीचमा एमालेमा प्रवेश गरेका थिए । एमालेबाट टिकट नपाउने भएपछि वैशाख १० गते लोसपा प्रवेश गरेर उम्मेदवारी दिएका थिए । उनी साबिकको बहादुरगन्ज गाविस अध्यक्ष पनि हुन् ।

यसैगरी कृष्णनगर नगरपालिका–९ मा माओवादीबाट दलित महिला सदस्यकी उम्मेदवार सबिरा धोवी र जनता प्रगतिशील पार्टीकी उम्मेदवार सुमिरता रैदासको उम्मेदवारी पनि रद्द भएको छ । उनीहरू दुवैले दलित प्रमाणपत्रको निस्सा पेस गर्न नसकेपछि उम्मेदवारी रद्द गरिएको हो ।

मायादेवी गाउँपालिका–३ को वडाध्यक्ष पदमा जसपाबाट उम्मेदवारी दिएका रामनाथ यादवको पनि उम्मेदवारी रद्द भएको छ । एकै पदमा उक्त पार्टीबाट दुई जनाले उम्मेदवारी दिएको पाइएपछि पहिलो उम्मेदवारी दिनेको कायम गरी उनको रद्द गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ