सांसद पद छाडेर मेयर बन्न चुनाव लडेका मधेशका दुई नेता पराजित

राजनीति

जनकपुरधाम, ११ जेठ । यसपटक स्थानीय तहको निर्वाचनप्रति मन्त्री तथा सांसदहरूको पनि मोह देखियो । कोही मन्त्री पद त्यागेर पालिका प्रमुखमा उम्मेदवारी दिए त कोही सांसद् पद त्यागेर उम्मेदवारी दिए ।

देशका विभिन्न स्थानमा मन्त्री तथा सांसद्हरू पालिका प्रमुख बन्न लालायित देखिए । अन्यत्र जस्तै मधेश प्रदेशमा पनि सांसद् पदबाट राजीनामा दिएर मेयर बन्ने सपना बुनेका थिए, रौतहटका शेख अबुल कलाम आजाद र सर्लाहीका उपेन्द्र कुशवाहा ।

उनीहरूले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको दौडमा होमिए । तर, दुवै जना पराजित भए ।

जनता समाजवादी पार्टीबाट आजाद रौतहटको गढीमाई नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । तर, उनी नेपाली कांग्रेसका श्यामप्रसाद यादवबाट पराजित भएका छन् । यादवले ८ हजार ६३१ मत ल्याएर विजयी भएका छन् भने आजादले ८ हजार ७३ मत ल्याएर पराजय भोग्नुपर्‍यो ।

त्यस्तै, यसपटकको स्थानीय निर्वाचनमा प्रदेश सांसदबाट राजीनामा दिएर सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा चुनाव लडेका नेपाली कांग्रेसका उपेन्द्र कुशवाहा पनि पराजित भए । गोडैतामा लोसपाका देवेन्द्रकुमार यादव ५२९४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी कुशवाहाले ४७५२ ल्याएर पराजयको सामना गर्नुप¥यो । उनी मधेश प्रदेशसभामा नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत थिए ।

कुशवाहा २०७४ सालका भएको प्रदेश चुनावमा सर्लाही क्षेत्र नम्बर ४ (२) बाट सांसद्मा निर्वाचित भएका थिए । त्यस्तै, प्रदेश चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका आजाद रौतहट क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित भएका थिए । पछि उनी जसपामा प्रवेश गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ