जनकपुरधाममा नेपाली कांग्रेसको विजयी जुलुसमा ‘स्वतन्त्र’ मेयर सहभागी

राजनीति

जनकपुरधाम, ११ जेठ । नेपाली कांग्रेसले जनकपुरधाममा विजयी जुलुस निकालेको छ ।

बुधबार जनकपुरधामस्थित गोपाल धर्मशालाबाट निस्किएको विजय जुलुस नगरका विभिन्न ठाउँको परिक्रममा गरेको थियो । जुलुसमा जनकपुरधामका नवनिर्वाचित मेयर मनोज साह पनि सहभागी भएका थिए । मेयर साह स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधामको मेयरमा हालै निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका पूर्वनेता रहेका साह जुलुसमा सहभागी भएपछि उनी फेरि पार्टीमा फिर्किन लागेको भनेर चर्चा हुन थालेको छ । यसअघि, साहले नेपाली कांग्रेसको साधारण सदस्यतासमेत त्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले पनि कांग्रेसबाट विद्रोह गरी उम्मेदवार बन्नेहरू, प्रस्तावकहरू तथा समर्थकहरूलाई पार्टीबाट औपचारिक रूपमा निष्कासन गरिसकेको छ ।

बुधबार निकालिएको विजयी जुलुसमा नेपाली कांग्रेसका नेता एवम् मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव, धनुषाका जिल्ला सभापति योगेन्द्र पञ्जियार, जनकपुरधामका उपमेयर किशोरी साहलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ