काठमाडौँ, १३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले काठमाडौँमा बालेन्द्र साह मेयरमा जित्नु परिवर्तनको संकेत भएको बताएका छन् ।
शुक्रवार प्रतिनिधिसभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमाथि भएको छलफलमा मन्तव्य राख्दै वरिष्ठ नेता महतोले काठमाडौँमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको संकेत भएको बताएका हुन् ।
उनले भने, ‘सभामुख महोदय हेरिहाल्नुभयो, काठमाडौँमा बालेन साह परिवर्तनको संकेत हो । जनताले खोजेको परिवर्तनको संकेत हो ।’ महतोले थपे, ‘आज म काठमाडौँवासीलाई र परिवर्तनको संकेत बालेन साहलाई बधाई दिन चाहन्छु ।’
राजनीतिक दलहरूले जनअपेक्षित काम गर्न नसक्दा स्वतन्त्र उम्मेदवार आउन थालेका पनि उनले बताए ।
अब परिवर्तनको विकल्प नरहेको उनको भनाइ छ ।
सांसद महतोले समृद्धि र विकासलाई शासक वर्गहरूले सत्ता र कुर्सीमा सीमित गरेको पनि आरोप लगाएका थिए ।
तपाईको प्रतिक्रिया