निर्वाचित वडाध्यक्षसहित चार जनासँग जनमतले सोध्यो स्पष्टीकरण

राजनीति

जनकपुरधाम, १८ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्षसहित चार जनासँग तीनदिने स्पष्टीकरण सोधेको छ ।

जनमत पार्टीका केन्द्रीय अनुशासन समितिका प्रमुख एवं उपाध्यक्ष ई.दीपक कुमार साहले वडाध्यक्षसहित चार जनासँग स्पष्टीकरण माग गरेका हुन् ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार सिंह, सोही वडाका वडा सदस्यद्वय कमल प्रसाद यादव र कल्याणी देवी महतो र सोही नगरपालिकाका नेता विजय कुमार यादवसँग स्पष्टीकरण सोधिएको हो ।

वडाध्यक्ष लगायत चारै जनाले नगर कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको र विपक्षी पार्टीलाई फाइदा हुने तथा आफ्नै पार्टीका उम्मेद्वार पराजित हुने गरी षड्यन्त्रमा संलग्न रहेको आरोप लागेको छ ।

ती चारै जनाले तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा पार्टीले आवश्यक कारबाही अगाडि बढाउने र निर्वाचित प्रतिनिधिको हकमा पदबाट हटाउनका लागि आयोगलाई पत्राचार गर्ने अनुशासन समितिका प्रमुख ई.साहले मधेशवाणीलाई बताएका छन् ।

यसैगरी, जनमतका केन्द्रीय अध्यक्ष डा.सीके राउतले सामाजिक सञ्जालमा भनेका छन्ः

पार्टीमा अन्तर्घात गर्ने छुट कसैलाई हुँदैन। व्यक्ति, नातेदार वा जाति हैन, पहिला पार्टीलाई हेर्ने अनुशासन बसाल्नु पर्दछ।

जनमत पार्टीमा बस्ने, तर प्रचारप्रसार अरू पार्टीको गर्ने, अरू पार्टीको लागि मत माग्ने, अरू पार्टीलाई समर्थन नै गरिदिने, अरू पार्टीको हित हुने गरी टिकट वितरण गरिदिने वा गर्न लगाउने, दुई–चार लाख दिँदैमा थचक्क बसिदिने, वर्षमा एक दुई पटक आउने केन्द्रीय निर्देश समेत नमान्ने, निर्वाचित हुँदैमा पार्टीभन्दा पनि ठूलो भएको अहंकार पाल्ने प्रवृत्ति स्वीकार्य हुँदैन।

वर्षौंदेखि सबभन्दा ठूलो संगठन भनिएको सिरहा र रौतहटमा सबभन्दा बढी अन्तर्घात भएको देखिएको छ।

हामी एक दुई निर्वाचनको लागि बनेका पार्टी होइनौं, युग निर्माणका लागि बनेका हौं। दीर्घकालीन् रूपमा टिक्नु छ भने निर्मम समीक्षा र सफाई गर्नु पर्ने नै छ। लाखौं गद्दारभन्दा पार्टीप्रति वफादार १०० कार्यकर्ता नै उत्तम हुनेछ।

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ