रुपन्देही जिसस गठनमा सत्तारुढ गठबन्धन अल्पमतमा

राजनीति

रुपन्देही, २० जेठ । जिल्ला समन्वय समिति रुपन्देहीको गठनमा सत्तारुढ ५दलीय गठबन्धन अल्पमतमा पर्ने देखिएको छ । रुपन्देहीमा रहेका १६ स्थानीयतहमध्ये कांग्रेस एक्लैले १० वटा स्थानीय तहको प्रमुख जितेको छ ।

अन्य ४ दलले कांग्रेसलाई साथ दिँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने देखिएको छ । ४ जना उपप्रमुखसहित कांग्रेस एक्लैको १४ मत छ भने जनता समाजवादी पार्टीले एउटा गाउँपालिका प्रमुख जितेको छ ।

गठबन्धनका अन्य दलले कुनै पनि पालिका प्रमुख र उपप्रमुख जित्न सकेनन् । जिल्ला समन्वय समिति गठनका लागि १७ जना चाहिन्छ । तर, गठबन्धनसँग मतभार १५ मात्रै छ ।

उता एक्लै निर्वाचन लडेको एमालेले रुपन्देहीका १६ पालिकामध्ये ३ वटामा प्रमुख र ८ वटामा उपप्रमुख गरी ११ वटामा जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारले कन्चन गाउँपालिकाको उपप्रमुख जिते पनि नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले उनी कांग्रेसकै मानिन्छन् भने नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि पालिकामा विजय हासिल गर्न सकेन ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिको नेतृत्व लिएको थियो । यसपटक एमाले एक्लैको मतभार ११ छ । अब एमालेले ६ जनालाई मनाउन सके उसले समन्वय समितिको नेतृत्व हात पार्नेछ । जिल्ला समन्वय समिति गठनमा लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील र राप्रपा देखिएका छन् ।

लोसमाले १ जनाप्रमुख र २ उपप्रमुख जितेको छ भने जनता प्रगतिशीलले १ प्रमुख र १ उपप्रमुख जितेको छ । राप्रपाले पनि एउटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।

सत्ता गठबन्धन बाहिरका ती दलले एमालेलाई साथ दिने गरी छलफल अगाडि बढाएका छन् । भागबण्डा मिलेमा एमालेलाई नेतृत्व दिएर सहमति गरिने राप्रपाका नेता सागर प्रताप राणाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ