काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले जानकारी दिएका छन् ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरूसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोसपा नेता शरदसिंह भण्डारीले बताएका हुन् ।
लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर आफूहरूले बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रका विषय ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले तत्काल नागरिकताको समस्या समाधान गर्न गरेको आग्रहलाई स्वीकार्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याइहाल्ने बताएको भण्डारीले बताए ।
साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
तपाईको प्रतिक्रिया