बलराम महतो जसपामा प्रवेश, अध्यक्ष यादवले गरे स्वागत

राजनीति

जनकपुरधाम, ६ असार । हालै भएको स्थानीय तहको चुनावमा जनकपुरधाममा मेयर पदमा स्वतन्त्र रूपमा लडेका बलराम महतो जसपामा प्रवेश गरेका छन् ।

सोमबार जनकपुरधाममा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महतोलाई पार्टीमा भित्र्याएका हुन् । महतो धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने बुझिएको छ । यद्यपि, निश्चित हुन बाँकी छ ।

२०७४ सालको चुनावमा यो क्षेत्रबाट उमाशंकर अरगरिया निर्वाचित भएका थिए । अरगरिया हाल लोसपामा छन् ।

सत्ता गठबन्धन कायमै रहे धनुषा क्षेत्र नम्बर २ जसपाको भागमा पर्ने सम्भावना रहेको छ ।

जनकपुरधाम उपमहानगरको मेयरमा पराजित भएका महतोले ४ हजार २ सय ९० मत प्राप्त गरेका थिए ।

नेपालको ठूलो निर्माण कम्पनी रमण कन्सट्रक्शनका सञ्चालकसमेत रहिसकेका महतो स्थानीय चुनावका बेला कम्पनी छोराहरूलाई सुम्पिएर आफू समाजको सेवा गर्ने उद्देश्य लिई राजनीतिमा आएको बताएका थिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ