जसपा अध्यक्ष यादवले भने– थप अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्छ

राजनीति

जनकपुरधाम, ६ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिहरूको संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । 

जनकपुरधाममा आज साँझ आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीलगायतका उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्ने बताएका हुन् ।

'मधेसी समुदायले पूर्ण रूपमा अधिकार प्राप्त गर्न सकेको छैन, त्यसैले अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्छ', अध्यक्ष यादवले भने, 'समानता र सामाजिक न्यायका लागि राजनीतिक सङ्घर्ष र आर्थिक समृद्धि र विकासका लागि चुनावी सङ्घर्ष गर्नुपर्छ ।' चुनावको माध्यमबाट शक्ति आर्जन गर्ने र त्यसपछि विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

'अहिलेको सङ्घीयता आपाङ्ग छ', अध्यक्ष यादवले भने, 'सङ्घीयतामा प्रदेश सरकार स्वायत्त हुन्छ, तर अहिले प्रदेश सरकार स्वायत्त छैन, अधिकांश अधिकार केन्द्रीय सरकारसँगै छ ।' सङ्घीयतालाई पूर्ण बनाउन प्रदेश सरकारलाई स्वायत्त बनाउनुपर्ने उनको कथन थियो ।

जनसङ्ख्याका आधारमा संसदीय निर्वाचन क्षेत्र पुनः निर्धारण माग गर्दै अध्यक्ष यादवले जनगणनाअनुसार तराई मधेशको जनसङ्ख्या ५३ प्रतिशत पुगेकाले सोही अनुपातमा तराई मधेशका जिल्लामा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताए ।

अहिलेको निर्वाचन प्रणाली असाध्यै खर्चिलो र बेथितिपूर्ण रहेकाले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्नेमा जोड दिँदै उनले यही निर्वाचन प्रणाली रहिरहे राजनीति धेरै महँगो हुने र त्यसले मुलुकको राजनीति व्यवस्था नै धरापमा पर्ने चेतावनीसमेत दिए ।

यस अवसरमा हालै सम्पन्न स्थानीय तहको चुनावमा स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिएका बलराम महतोलाई अध्यक्ष यादवले फूलमाला र अबिर लगाएर जसपा प्रवेश गराए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा महतो नगरप्रमुख पदमा स्वतन्त्रबाट चुनाव लडेका थिए । 

महतो धनुषा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा चुनाव लड्ने अनुमान गरिएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ