जिसस रौतहटमा गठबन्धनका उम्मेदवार विजयी

राजनीति

रौतहट, १६ असार । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामअयोध्या यादव विजयी भएका छन् ।

निर्वाचनमा यादवसहित गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको गठबन्धनबाट प्रमुखका उम्मेदवार यादवले २६ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शेरबहादुर पटेलले ५ मत प्राप्त गरे ।

गठबन्धनकै तर्फबाट एकीकृत समाजवादीका उपप्रमुखमा एकीकृत समाजवादीका महेश बैठाले २६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमिला देवीले ५ मत प्राप्त गरिन् । सदस्यहरुमा गठबन्धनकै मोज्जमिल्ल आलम, अशोककुमार झा, सर्पलालप्रसाद यादव, कमलाकुमारी ढकाल, इन्दु देवी, विजलिया देवी र किरण देवी साह निर्वाचित भएका छन् ।

दलित सदस्यमा किरणदेवी साह निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रौतहटमा १६ नगरपालिका र दुई गाउँपालिका छन् । जिल्ला समन्वय समितिको कुल मतदाता ३६ जना रहेको छ । तीमध्ये कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका २४ जना छन् ।

गठबन्धनबाट जिससमा कांग्रेसले प्रमुखसहित ५ पद पाएको छ । एकीकृत समाजवादीले उपप्रमुखसहित ३ र माओवादी केन्द्रले १ पाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ