काठमाडौँ, २१ असार । सरकारले प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्काे विधेयक दर्ता गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ ।
केपीशर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो । त्यही वर्ष साउन २५ मा संसदमा प्रस्तुत भएको थियो ।
दफाबार छलफलका लागि यो विधेयक भदौ ५ गते राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो । समितिले फरक मतका साथ प्रतिवेदन तयार पारी २०७७ असार ९ मा संसदमा पेश गरेको थियो । तर, पनि सहमति जुट्न नसकेपछि विधेयक विचाराधीन अवस्थामा थियो । नागरिकता विधेयक नआउँदा विशेषगरी जन्मसिद्ध नागरिकका सन्तान नागरिकता पाउनबाट वञ्चित हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया