अमेरिकाको युद्ध उत्तेजनात्मक गतिविधि : नेमकिपा

राजनीति

काठमाडौं, १८ साउन । नेपाल मजदुर किसान पार्टीले अमेरिकाको युद्ध उत्तेजनात्मक गतिविधि रहेको आरोप लगाएको छ । उनले अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको आरोप लगाएको हो ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले बुधबार एक विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएका हुन् ।

अमेरिकी प्रतिनिधिसभाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेका हुन् । उनले ताइवानलाई चीनको अभिन्न अंग भन्दै त्यहाँ अमेरिकी सभामुख जानु अमेरिकाको युद्ध उत्तेजनात्मक गतिविधि भनेको छ ।

अध्यक्ष बिजुक्छेले भने विज्ञप्तिमा भनेका छन्, ‘चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तोजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्दै आएको सर्वविदित छ । त्यसैको सिलसिला अन्तर्गत पेलोसीको ताइवान भ्रमण भएको प्रष्ट छ, निश्चय पनि यसको परिणाम वाइडेन प्रशासनले भोग्नुपर्नेछ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ ।’

विगतमा एक चीन नीतिलाई स्वीकार गरे पनि अमेरिकाले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति भएको नेमकिपाले बताएको छ ।

अमेरिकाले एसियामा युद्ध थोपर्ने चालबाजी गरिरहेको भन्दै नेमकिपाले एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गरेको छ ।

‘चीनको सम्प्रभुताको कदर गर्नु र एक चीन नीति साँचो अर्थमा पुनः अडिग भएर प्रस्तुत हुनु स्वयं संयुक्त राज्य अमेरिकाको निम्ति हितकारी हुने तर्फ नेमकिपा बाइडेन प्रशासनको ध्यानाकर्षण गर्दछ’ अध्यक्ष बजुक्छेले भनेका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ