काठमाडौं, २२ साउन । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक ध्रुवीकरणको प्रयास तीव्ररुपमा अगाडि बढिरहेको छ ।
मधेशकेन्द्रित राजनीतिक दलहरुबीच पनि ‘मधेशी गठबन्धन’का लागि पहल हुन थालेको छ । मधेशका शक्तिहहरु एकजुट भएर चुनावमा गए मात्रै प्रदेश र संघीय सदनमा मधेशीको प्रभावकारी प्रतिनिधि हुनेछ । अन्यथा वि.सं. २०७० सालको निर्वाचनभन्दा पनि दयनीय अवस्था आउने निश्चित छ ।
महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल, डा.सीके राउतको जनमत पार्टी लगायत बीच ध्रुवीकरण हुनुपर्ने आममधेशीको चाहना रहेको छ ।
संसदमा मधेशको बलियो उपस्थितिका लागि मधेशी गठबन्धनको विकल्प नरहेको मधेशमा व्यापक चर्चाको विषय बनेको छ ।
यता, लोसपा, जसपा र जनमतबीच चुनावी तालमेल वा गठबन्धनका लागि भित्रभित्रै पहलहरु भइरहेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल पनि गरेका छन् ।
लोसपा र जसपाको कडा आलोचना गर्दै आएका डा.राउतले आगामी चुनावमा तालमेल आवश्यक भएको निष्कर्ष निकालेका छन् ।
सोही अनुरुप लोसपा अध्यक्ष ठाकुर र जसपा अध्यक्ष यादवसँग भेटघाट गरी आगामी चुनावी रणनीतिबारे छलफल भएको बताइएको छ ।
अर्कोतिर, जसपा अहिले पाँच दलीय गठबन्धनमा छ र सो गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल गर्ने निर्णय नै गरिसकेको छ ।
यस्तै, लोसपाले कांग्रेससँग तालमेल गर्ने योजना बनाए पनि पाँच दलीय गठबन्धनको निर्णयले एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्थाको सिर्जना हुँदैछ ।
तर, जनमतका अध्यक्ष डा.राउत मधेशी गठबन्धनका लागि जोडबल गरिरहेका छन् । उनले मधेशमा मधेशी शक्तिबीच चुनावी सहकार्य, तालमेल वा गठबन्धन हुनुपर्ने योजनामा रहेको बुझिएको छ ।
समग्र मधेशका नागरिकको भावना पनि यहीं रहेको देखिन्छ । मधेशका बारे चिन्तन गर्नेहरु सामाजिक सञ्जालदेखि चिया गफमा पनि मधेशी गठबन्धन नै एक मात्र विकल्प रहेको चर्चा गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया