पूर्वराज्यमन्त्री एवं माओवादीका नेता यादव एमाले प्रवेश

राजनीति

काठमाडौं, ३० साउन । पूर्वराज्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामसिंह यादव नेकपा एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीेय सदस्यसमेत रहेका नेता यादवले आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका र खादा लगाएर सो पार्टीमा प्रवेश गरेका हुन् ।

यादव ०७४ सालको भदौमा माओवादीबाट स्वास्थ्य राज्यमन्त्री बनेका थिए । ०६९ साल नेकपा एमाले छोडेर माओवादी केन्द्रमा गएका यादव पुनः एमालेमा फर्किएका हुन् ।

०४० सालदेखि एमालेलाई बलियो खम्बा बनाएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाउँदै एमाले पार्टीका विभिन्न समस्या भएका कारण पार्टी छोडेर माओवादी केन्द्रमा गएका थिए ।

‘लामो समय एमालेमै रहेर काम गरँे’, उनले भने, ‘बीचमा केही समस्या उत्पन्न भएपछि एमाले छोडेर माओवादीमा गएको थिएँ ।’ अब फेरि आफ्नो पूरानो घरमा फर्केको उनले बताए ।

‘म माओवादीमा रहिरहँदा मैले देखेको त्यहाँको अस्तव्यस्त अवस्थाले न कम्यूनिस्ट आन्दोलनलाई, न त नेकपा माओवादी केन्द्रलाई नै बनाउँछ । कम्यूनिस्ट आन्दोलनलाई हाँक्न सक्ने, कम्यूनिस्ट पार्टीलाई एकरूपता बनाउन सक्ने क्षमता नेकपा ऐमालेसँग मात्र छ’, उनले भने, ‘त्यसैले म एमालेमै पुनः फर्केको हुँ’, यादवको भनाइ छ । नेता यादवसँगै ३२ जना नेता तथा कार्यकर्ताले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ