काठमाडौं, १ भाद्र । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राईसहित सयौं नेता कार्यकर्ताहरु नेकपा (एमाले) प्रवेश गरेका छन् ।
बुधबार जसपाका केन्द्रीय कार्यकारिणी समिति राईसहित सो पार्टीका दशजना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।
जसपाका बरिष्ठ नेता राई नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन् । नेकपा (एमाले) को पाँचौं महाधिवेशनका केन्द्रीय सदस्यसमेत रहेका राई पूर्वमन्त्री हुन् । उनीसँगै एमाले प्रवेश गरेका केन्द्रीय सदस्यहरूको लामो र प्रभावकारी राजनीतिक जीवन रहेको छ ।
पार्टी प्रवेश गर्नेहरूमा जसपाका केन्द्रीय सदस्यहरू शान्त कुमार प्रधान (भोजपुर), भूराज राई (मोरङ), सविना अर्याल (काठमाडौं), रामसिं राई (भोजपुर), चन्द्रविक्रम राई (भोजपुर), उमेश थापा (सुनसरी), पवित्रा तिमल्सीना (कैलाली), कर्णबहादुर रतौकी (बैतडी), सुनिल विश्वकर्मा (बाजुरा) र शङ्कर बहादुर सार्की (बसेल), सिन्धुली हुन् ।
उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । सो अवसरमा अध्यक्ष ओलीले पार्टीमा सबैलाई विना भेदभाव यथोचित जिम्मेवारी दिइने वताएका छन् ।
तपाईको प्रतिक्रिया