महोत्तरी, १२ भदौँ । तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले गठबन्धन दलहरूले आ-आफ्नो सिद्धान्तलाई तिलाञ्जलि दिएको टिप्पणी गरेका छन् ।
महोत्तरी गा.पा. मा आसन्न निर्वाचनको सन्दर्भमा भएको पार्टीको कार्यकर्ता भेलामा अध्यक्ष लालले देशमा अहिले चलिरहेको गठबन्धनीय राजनीति निर्वाचनमा जेनतेन आफ्नो सिट सुरक्षित गर्ने र भोटको गणितमा आधारित मात्र रहेको बताएका हुन् । उनले वर्त्तमान गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा भई नरहेको आरोप लगाउँदै नेका, माओवादी, जसपा, समाजवादी सबै पार्टी आ-आफ्नो सिद्धान्तलाई तिलांजलि दिएको पनि बताए । उनले यी दलहरू लोकतन्त्रवादी वा वामपन्थी छैनन्, यी सबैको भ्रममा पर्नु ठीक नहुने र परियो भने ठगिने निश्चित रहेको भन्दै सबैलाई सचेत गराए । उनले गठबन्धनको निर्माण कुनै खास एजेन्डाको आधारमा नभएको र यस्तो गठबन्धन वर्त्तमान निर्वाचन प्रणालीको मजाक उडाइरहेको आरोप लगाउँदै मतदाताले समानुपातिक मत कसलाई र कुन आधारमा हाल्ने भन्ने प्रश्न खडा भएको बताए । खास गरी समानुपातिक समावेशितालाई महत्वहीन बनाइँदै लगिएको उनको आरोप थियो । लालले लोसपालाई ईंगित गर्दै केही व्यक्ति आ-आफ्नो सिटको भिक्षाटनमा दरबारहरू धाइरहेको आरोपसमेत लगाए ।
कार्यकर्त्ता भेलामा पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंहले अरु मधेशकेन्द्रित दलहरूले मधेशको एजेन्डा बिसाइदिएको कारणले तराई-मधेश लोकतान्त्रिक पार्टी मशाल जलाइराख्न आगाडि आएको बताए । तमलोपा आन्दोलनकारी र मधेशवादीहरूको पार्टी भएको सन्देश वडा र गाउँमा संगठनको आधार खडा गर्दै पुर्याउन आग्रह गर्दै उनले क्षेत्रीयता हाम्रो घोषित वास्तविकता रहेको बताए । संघीय संरचनामा क्षेत्रीय अवधारण नरहे वास्विक स्वशासन नहुने उनको दाबी थियो । कार्यकर्त्ता भेलालाई पार्टीका नेताहरू बिभा ठाकुर, बिमला साह, रामजी राय, उमेशकुमार मण्डल, सत्यनारायण साह, रामकृपाल साह, सुनिल रायलगायतले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया