काठमाडौं । आम जनता पार्टी (आजपा) र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । शनिबार काठमाडौंको बुद्धनगरमा आयोजित पार्टी एकीकरण घोषणा सभामा दुई पार्टीका बीचमा एकताको घोषणा भएको हो ।
पार्टी एकीकरण पश्चात नयाँ पार्टीको नाम आजपा नै रहने भएको छ । पार्टीको अध्यक्ष प्रभु साह रहने सहमती भएको छ । आजपा अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले पार्टी एकताको आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारेको बुझाई, आम जनजीविकाका सवालहरू तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषय सँगसँगै नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्वपूर्ण क्षेत्रहरुमा आधारभूत रूपमा हेर्दा हाम्रा बुझाई एवं दृष्टिकोणहरुमा एकरूपता विद्यमान रहेको निचोडमा पुग्यौं’ दुई पार्टी बीचमा एकता पश्चात जारी आधारपत्रमा उल्लेख गरिएको छ ।
दुई पार्टीका बीचमा पछिल्लो समय पार्टी एकीकरणका लागि आन्तरिक रुपमा छलफल चलिरहेको थियो । दुबै पार्टीका नेताहरु पार्टीको नीति, कार्यक्रम, विचार, सिद्धान्त लगायतका बिषयमा एकरुपता रहेकाले पार्टी एकीकरण गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।
‘नेपालमा विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठुलो दलको सिन्डिकेट र ठुलो दलभित्र पनि निश्चित गुट नेता र आसेपासेहरुको शासनले लोकतन्त्र सिर्फ देखाउने दाँत भएको र आम जनता लाचार भई शोसित हुनुपरेको यो बिडम्बनापूर्ण परिस्थितिलाई चिर्दै आम जनताको वास्तविक शासन सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपरिहार्य आवश्यकता रहेकोले यसका निम्त सम्पूर्ण देशभक्त, प्रगतिशील अग्रगामी शक्तिहरु एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुग्यौं’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरी दुई पार्टीका बीचमा पछिल्लो समय विश्वभर सूचना प्रविधिमा आएको अद्भुत क्रान्ति तथा सम्राज्यवादीहरुको गुरु योजना अनुरूप नेपालमा विकसित भगौडा दलाल पूँजीपति वर्गको वर्चस्वले देश उजाड़ एवं बर्बाद भैरहेको सन्दर्भमा राज्यको लुटकारी चरित्रबाट मुक्ति दिलाउन यसको शशक्त प्रतिवाद गर्ने सहमती समेत भएको छ ।
अग्रगामी सोच–विचारका लोकप्रिय व्यक्ति, समुह, संगठन र शक्तिहरु बीच योजनाबद्ध वार्ता, संवाद र सहकार्य मार्फत निकट भविष्यमा थप बृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाईमा पुर्याउन दुबै पार्टी संकल्पित भएको जनाएका छन् । पार्टी एकीकरणको घोषणा कार्यक्रम चल्दै गर्दा बिभिन्न पार्टीका सयौं युवा नेताहरु पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका छन् ।
पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दलतन्त्र हाबी भएको र दलिय लुटतन्त्रले मुलुकको आर्थिक अवस्था संकटमा पुगेको बताए । विदेशीले ऋण दिन नमानेको र राजस्वमा लुट चलिरहेकाले मुलुकको आर्थिक अवस्था दिनदिनै संकटमा फस्दै गएको उनले बताए ।
‘हिजोका दिनमा निरंकुश शाही शासन थियो भने अहिले दलिय लुटतन्त्र र दलिय सिण्डिकेट रहेको छ’ साहले भने, ‘तपाई हामीलाई थाहा छ, अहिले केही मुठीभर नेताहरुको हुकुम चलिरहेको, केही सिमित दल, दलमा पनि गुट, गुटमा पनि केही मुठीभर नेताहरुको हालीमुहाली छ । यो दलीय लुटतन्त्र र सिण्डिकेटले मुलुक समृद्ध बन्दैन । तर हामी यि सबै घेराबन्दी र मनोमानीलाई परास्त गर्दै अगाडी बढनुपर्छ र समृद्ध नेपाल बनाउँन सम्भव छ, हामी बनाउँछौं ।’
दलतन्त्रले जनतालाई ठगिरहेको आरोप उनले लगाए । नेपालको दलतन्त्रको शासनप्रणाली परिवर्तन गर्न जरुरी रहेको बताउँदै उनले दलीय शासन प्रणाली नेपालका लागि राम्रो नहुने बताए । देशमा मुठिभर मान्छेहरुले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति रहेको भन्दै आफूहरुको आन्दोलन जनताले नै शासन गर्न पाउनुपर्नेका लागि रहेको बताए । अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली नभएको जिकिर गर्दै उनले जनतालाई दबाउने, जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन नसक्ने बताए ।
‘अहिले जुन दलतन्त्र र यो गलत मानिसहरुले नकाव बनाएर जनतालाई ठगिरहेका छन् । त्यसलाई चिर्न जरुरी छ । त्यसलाई बदल्न जरुरी छ । नेपालको यो शासन प्रणाली, जसलाई हामी दलतन्त्र भन्छौँ, पार्टीको शासन भन्छौँ, यसको विकल्प दिन जरुरी छ । पार्टी, पार्टीको दलीय शासन प्रणाली, पार्टीको सिन्डिकेट र पार्टी भित्र पनि निश्चित गुटको सिन्डिकेट छ’ उनले भने, ‘गुटका नेताहरु र उनीहरुका आसेपासेले देशमा मुठिभर मान्छेहरुले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति छ । यसलाई हामी तोड्न चाहन्छौँ । यसको अन्त्य गर्न चाहन्छौँ । यो प्रणाली हामी बदल्न चाहन्छौँ । यही प्रणालीमा तपाईं, हाम्रो पार्टी रह्यो भनेपनि हामी पनि त्यस्तै बन्ने हो । त्यसैले हामी कुनै व्यक्ति, कुनै पार्टी होइन, प्रणाली बदल्न चाहन्छौँ । अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली होइन । जनतालाई दबाउने, जनतालाई ठग्ने, सिस्टम देखिरहेका छौँ ।’
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनको विरुद्धमा संघर्ष गरिरहेको बताउँदै उनले किसान, मजदुर लगायतकाको अधिकारका लागि लडिरहेको बताउँदै २० बैशाखदेखी आजपाको आम सम्पर्क मञ्चले लुटकारी भन्सारको पुरस्कारको व्यवस्था विरुद्ध भन्सार विभाग घेराउ गर्ने चेतावनी समेत दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी जनएकता पार्टीका संयोजक श्रेष्ठले आफ्नो पार्टी र आजपाको बिचार, कार्यक्रम लगायतका बिषयमा एकरुपता रहेकाले पार्टी एकीकरण गरेर समृद्ध नेपाल निर्माणको अभियानमा अगाडी बढेको बताए ।
आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले पार्टीले भ्रष्टाचार, अनियमितता, कुशासनको बिरुद्धमा जारी गरेको आन्दोलन नरोकिने बताए । बिकास, समृद्धिका लागि पार्टीले भ्रष्ट, दलालहरुलाई कारवाहीका लागि संघर्ष जारी राख्ने बताउँदै उनले आजपाद्धारा हुने अबको आन्दोलश शसक्त हुने बताए ।
तपाईको प्रतिक्रिया