जुनीचाँदे गाउँपालिका–१ बडकुलेमा घर कुर्न बसेका महिला तथा बालबालिका ।
उनीहरू सबै मजदुरी गर्न श्रम बजार खोज्दै उता लागेका हुन् । उनीहरूका घरमा श्रीमती र साना छोराछोरीमात्र छन् । बडकुलेका २ सय पुरुष श्रमका लागि भारत बस्ने भएपछि गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र भेटिन्छन् ।
जुनीचाँदेको बडकुलेवासी मात्र होइन, मौगान, मजकोट, स्याँला, दह, भैरव, पातललगायत दर्जन गाउँका धेरैजसो पुरुष घरखर्च जुटाउन अधिकांश समय भारतीय बजारमै हुन्छन् । पुरुष कमाइ गर्न भारत जाँदा महिलाले घर कुर्ने, बालबालिकाको हेरचाह गर्ने र बस्तुभाउ स्याहार्ने गर्छन् । गत पुस दोस्रो साता फैलिएको भाइरल इन्फ्लुएन्जाबाट पीडित यहाँका महिला तथा बालबालिकालाई यतिबेला दैनिक गुजाराकै समस्या भएको छ । उनीहरूलाई खाद्यान्न, लत्ताकपडाको जोहो गर्न मुस्किल छ । श्रीमान् कमाइ गर्न भारत गएकाले घर व्यवहार धान्नै कठिन भएको बडकुलेकी बेलमती दमाईले बताइन् । भाइरलले छोराछोरीसहित थला पर्दा स्याहार्ने कोही नभएको उनले बताइन् । गरिबी तथा बेरोजगारीका कारण घर खर्चको जोहो गर्न श्रीमान्ले भारतमा दुस्ख गर्नुपरेको उनको भनाइ छ ।
अधिकांश घरमा पुरुष नहुँदा भाइरलबाट २ सातासम्म थला परेका महिलालाई घर व्यवहार धान्न थप कठिन भएको वडाध्यक्ष चन्द्रबहादुर शाहीले बताए । स्थानीयले भारतमा ६ महिना मजदुरी गरेर आर्जेको रकमबाट गुजरा चलाउँदै आएको अध्यक्ष शाहीले बताए । गाउँमा रोजगारी तथा उत्पादन नहुँदा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको शाही बताउँछन् ।
पुरुषजति भारत गएपछि गाउँमा मलामी जानेसमेत पाइन छाडेको उनले बताए । जुनीचाँदे गाउँपालिकाबाट मात्रै ४ हजारभन्दा बढी मजदुरीका लागि भारत पुगेका छन् । ‘सिँचाइ सुविधा नहुँदा गाउँमा जग्गा जमिन बाँझो छ । आकाशे खेतीको भरमा उत्पादित अन्नले वर्षमा ६ महिनटा पनि खान पुग्दैन । भारतमा मजदुरी गरेर ल्याएको ज्यालाबाटै हाम्रो गुजारा चल्छ,’ उनले भने, जुनीचाँदेमा मकै, धान, कोदो, फापरलगायतको उत्पादन घटदै गएकाले बर्सेनि खाद्यान्न अभाव हुने गरेको शाहीले बताए । चेतनाको कमी, गरिबी, कुपोषणका कारण स्थानीयको स्वास्थ्य अवस्था झन् झन् नाजुक हुने गएको उनको भनाइ छ ।
कुशे, बारेकोट गाउँपालिका, छेडागार नगरपालिका, नलगाडलगायतका बासिन्दा पनि मजदुरी गर्न भारतकै भर पर्नुपर्छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि भारत पस्नेको संख्या ३० हजारभन्दा बढी भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । जिल्लामा बढदो बेरोजगारी समस्या, गरिबी, कृषि उत्पादन कमीलगायत कारण जाजरकोटका अधिकांशलाई रोजगारी खोज्न भारत धाउनुपरेको शाहीले बताए ।
प्रकाशित माघ ११, २०७४ १०:२२
तपाईको प्रतिक्रिया