काठमाडौं, १७ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशलाई जनताको दिवस बनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस मूल समारोह समितीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवस सबभन्दा ठुलो राष्ट्रिय दिवस हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले संविधान दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान दिवशको अवसर पारेर शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन् । “संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाति, महिला, दलित, मधेश, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो” प्रधानमन्त्री ओलीले भने “यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झांकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।”
प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञा प्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले संविधान दिवशका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोवाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया