काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वमा दक्षिण एशियाको सम्मानजनक स्थान निर्धारण गर्नुपर्नेमा जोड दिनु भएको छ ।
राजधानीमा आयोजित दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलनमा अध्यक्ष दाहालले दक्षिण एशियालाई विश्वकै शान्त र समृद्ध क्षेत्र बनाउन सबैमा अपील गर्नुभएको हो । उहाँले दक्षिण एशियाली देशहरुबीचको आपसी एकता र सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो ।
दक्षिण एशियाली क्षेत्रीय सहयोगका क्षेत्रमा भए गरेका प्रगतिहरुको आत्मसमीक्षा गरेर आगामी बाटो पहिल्याउनुपर्ने भन्दै उहाँले परस्पर लाभ हुने किसिमले सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले सार्कले अपेक्षित विकास गर्न नसकेको टिप्पणी गर्दै सार्कले शान्ति, स्थायित्व र समृद्धिको हाम्रो आशा भने अझै पूरा गर्न नसकेको बताउनुभयो ।
दक्षिण एशियाको समृद्धिका लागि क्षेत्रीय व्यापारको महत्वमा जोड उहाँले विश्व मानचित्रमा दक्षिण एशियाले सम्मानित स्थान खोजेको बताउनुभयो । दक्षिण एशियाका देशहरु सामाजिक, आर्थिक विकासको फरक फरक तहमा रहेको तथ्य उल्लेख उहाँले भन्नुभयो, “अब विगतको मानसिकता त्यागेर सबैले जित्ने साझा संयन्त्र बनाउनु जरुरी छ ।
यसले मात्रै हाम्रो क्षेत्रको वैधता र विश्वसनियताको विकास गर्न सक्छ ।” पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष दाहालले नेपालले राजनीतिक संक्रमणको कालखण्ड पूरा गरेर विकास र समृद्धिको यात्रामा अघि बढेको उल्लेख गर्नुभयो ।
तपाईको प्रतिक्रिया