काठमाडौं, २१ भाद्र । तराई मधेश राष्ट्रिय परिषदको अगुवाईमा एक प्रतिनिधिमण्डल बिहीबार गृहमन्त्री राम बहादुर थापा बादलसँग भेटी राम मनोहर यादवको शंकास्पद हत्याको न्यायिक छानविन गरेर दोषीउपर कडा कारवाहीको मागसहित उच्चस्तरीय छानविन समिति गठन गर्न ज्ञापनपत्र बुझाइएको छ ।
सो प्रतिवेदन सार्वजनिक होस् भनेर ज्ञापनपत्र बुझाइएको परिषद्का सदस्य सरोज रायले जनाएका छन् । राम मनोहरको मृत्यु भएको ७ दिन बित्दा समेत उनको पोस्टमार्टम नभएको प्रति गृहमन्त्रीको ध्यान आकर्षण गराउंदै तत्काल पोस्टमार्टम गराउन पहल होस् साथै सम्बन्धित निकायमा जाहेरी दर्ता होस् समेत माग गरिएको छ ।
मागपत्रमा राम मनोहर यादवलाई शहीद घोषणा र उनका परिवारलाई भरणपोषणको व्यवस्था समेत होस् भनेर उल्लेख छ । परिषद्ले राखेको मागप्रति सकारात्मक धारणा राख्दै गृहमन्त्रीले उच्चस्तरीय छानविन समिति गठन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साथै पोस्टमार्टम तथा जाहेरीको सम्बन्धमा तत्काल पहल लिने बताए । ज्ञापनपत्र परिषद्का संयोजक सिएन थारूको नेतृत्वमा परिषद्का सदस्यगण सामाजिक अभियन्ता सरोज राय, अधिवक्ता विकाश ठाकुर, अधिवक्ता आनन्द गुप्ता र सुशील चन्द्र ठाकुरको सहभागितामा बुझाइएको हो ।
तपाईको प्रतिक्रिया