काठमाडौं, ९ कार्तिक । आयरल्याण्डका नागरिक प्राध्यापक डाक्टर दइथी ओ मर्क्युले नेपालको कला पत्थर क्षेत्रमा एल्ट्रा म्याराथनमा विश्व कीर्तिमान कायम गर्ने भएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन डाक्टर दइथीले कात्तिक ११ गते सोलुखुम्बूको कला पत्थर क्षेत्रमा १० घण्टामा ५० किलोमिटर दौडिएर विश्व कीर्तिमान कायम गर्न लागेका हुन् । उनी आफ्नो कीर्तिमानी योजनासहित आज त्यसतर्फ प्रस्थान गरेका छन्।
आयरल्याण्डका पूर्व कुटनीतिज्ञसमेत रहेका दइथीले ५ हजार ६ सय ४५ मिटर उचाईमा रहेको कला पत्थरबाट ५ हजार ३ सय ५० मिटर उचाइमा रहेको च्योला पास, ५ हजार ४ सय २० मिटर उचाइरहेको रहेको रेन्जो पास हुँदै एकल अल्ट्रा म्याराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन लागेका हुन् ।
विगतमा विश्वका विभिन्न उच्च हिमाली क्षेत्रमा भएका प्रतिस्पर्धामा भाग लिनुका साथै एभरेष्ट म्याराथनमा समेत सहभागी भइसकेका दइथी यो विश्व कीर्तिमान कायम गर्न सफल हुने नेपालस्थित उनका सहयोग छुल्दिम शेर्पाले जानकारी दिनुभयो ।
यो म्याराथनमा नेपालमै पहिलोपटक नयाँ प्रविधिको प्रयोग हुने जानकारीसमेत दिइएको छ। म्याराथन सुरु भएसँगै धावक दइथीका सम्पूर्ण गतिविधि विश्वभर प्रत्यक्ष हेर्न सकिने बताइएको छ।
यो कीर्तिमानसँगै सन् २०२० मा लाइफ टाइम एक्सपिरिन्यस स्पोर्टस टुरिज्म कार्यक्रम, मी म्याराथन २०२० एण्ड वियोन्डलगायतका कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
तपाईको प्रतिक्रिया