‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन

कला/संस्कृति

काठमाडौं । दर्शकहरुको अपार साथपछि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपिएको छ । एक साताअघि मंसिर १६ बाट मंसिर २३ सम्म मञ्चन मिति थपेको यस नाटककले पुनः अन्तिम एक शो थप गरेको हो ।

थपिएको विशेष मञ्चन मंसिर २४ गते सोमबार साँझ ४ः३० मण्डला थिएटरमा हुनेछ । गत कात्तिक २४ देखि नियमित मञ्चन थालेको यस नाटकको आज आइतबारको नियमित मञ्चन कायम नै छ ।

दयाहाङ राईको निर्माण तथा केदार श्रेष्ठको लेखन, निर्देशनको नाटकमा मेनुका प्रधान र कार्मलाई मञ्चमा प्रत्यक्ष देख्न पाइनेछ । दर्शकहरुले टिकट नपाएर फर्कने अवस्था आएपछि एक शो थपेर रङ्गकर्मीहरुका लागि सहयोगार्थ स्वरुप विशेष मञ्चन गर्न लागेको मण्डला थिएटरले जनाएको छ ।

मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’लाई अहिलेसम्म नियमित २८ वटा मञ्चनमा ३५ सयभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

यस नाटकले घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारेको छ । सन्तान चाहनाको उत्कट उत्साह सङ्गालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, वाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को आवाज हो ।

नाटकको मञ्चदेखि, ध्वनि परिकल्पना, प्रकाश परिकल्पनामा मिहिन रुपमा सिर्जना गरिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मण्डला थिएटरले घोषण गरेको ७ निर्देशकमध्येको तेस्रो हो । नाटकमा कलाकार मेनुका र कार्मका साथमा भित्री मञ्चमा मनिष व्याञ्जु र आभा प्रधानको अभिनय छ ।

देव न्यौपानेको ध्वनि, घनश्याम श्रेष्ठको प्रकाश, रमिला नेम्कुलको भेषभुषा परिकल्पना रहेको नाटकको मञ्च परिकल्पना निर्देशक स्वयम्को रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ