काठमाडौं, २५ पुस । चर्चित गायक प्रमोद खरेलले भारतको आसाम पुगेर आफ्नो प्रस्तुती दिएका छन् । नेपालको प्रतिनिधित्व गर्दै भारतको आसाम पुगेका खरेलले आसामको बगाइगाव चिरांगमा सञ्चालित बाह्रदिने डाइजिङ फेस्टिभलको अन्तिम दिन गत मंगलबार खरेलले विशेष प्रस्तुति दिए ।
‘आसाम मेरो मामाघर हो’ भन्दै स्टेज उक्लिएका प्रमोदले कार्यक्रम भर दर्शकबाट भाञ्जाको सम्बोधन पाइरहे । उनले दुइटा आसामी भाषका गीत, पुराना नेपाली हिट गीतसँग बोडो गीत बागरुम्वा फ्युजन गरेर गाउँदा दर्शक रोमञ्चित बने ।
कार्यक्रम आयोजकलाई नेपाली टोपी लगाइदिएर उनले नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाल आउन अनुरोध गरेका थिए । उनले म बिना, झुम्कावाली, यो कुरा गोप्य, हंगामा भो लगायतका गीत सुनाए ।
नेपालबाट आफ्नै ब्यान्ड लिएर आसाम पुगेका खरेलले गायिका मीना निरौलासँग केही युगल गीतसमेत गाएका थिए । कार्यक्रम बोडोल्यान्ड पर्यटक बोर्ड र डाइजिङ फेस्टिभलले आयोजना गरेको थियो । नेपालबाट कृष्ण शर्माले कार्यक्रमको संयोजक गरेको थिए ।
तपाईको प्रतिक्रिया