काठमाडौं, ११ पुस । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन नेपाल आएकी भारतीय चर्चित गायिका आशा भोस्लेले रेडियो नेपाल पुगी ‘रिहर्सल’ गरेकी छन् ।
उनले आफूले स्वर दिएका विभिन्न नेपाली गीतमा रिहर्सल गरेकी हुन् । उनलाई रेडियो नेपालमा कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटा र अन्य कर्मचारीले स्वागत गरेका थिए । साधना कला केन्द्रको निमन्त्रणमा भोस्ले नेपाल आएकी हुन् ।
भोस्लेले हुने साङ्गीतिक कार्यक्रममा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायतका आफूले स्वर दिएका अन्य गीत पस्कनेछन् ।
उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिने छन् । केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आएका हुन् ।
तपाईको प्रतिक्रिया