महोत्तरी, ३ भाद्र । महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ ।
मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल । ठूलठूला व्यापारिक प्रष्ठिान हउन कि चलचित्र घर ।
सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेका छन् । चारैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय देखिएको छ ।
मिथिलामा अहिले जताततै दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक धुन गुञ्जिरहेका छन् । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी), साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् ।
बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै राखीको तयारीसँग सम्बन्धित हुने गरेको छ ।
बर्दिवास नगरपालिका–७ प्रेमनगर माइतघर भएकी उनले भारतको मद्रासमा रहेको भाइलाई पर्वमा आउन निम्ता गरिसकेको जानकारी दिइन् ।
विवाह भएर गएका चेली (दिदीबहिनी)हरु मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइकहाँ छन् ? पत्ता लगाएर राखी बाँध्न आउने निम्ता दिन अहिले व्यस्त छन् ।
गत वर्ष र यसपालि पनि कोभिड–१९ महामारीले आवागमन सहज नहुँदा टाढाबाट दाजुभाइले घर पुग्न नसकिने बताउँदा मन कुँडिने गरेको उनको गुनासो छ ।
यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिनमा तल्लिन रहेका देखिँदो छ ।
साउन शुक्लपक्ष सुरु भएयता दाजुभाइप्रति देखाइने वास्ता र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न बर्दिवासबजार पुगेकी बर्दिबास–१२ की बिन्दु कुशवाहाको भनाइ छ ।
यही आउने भदौ ६ गते आइतबारका दिन मनाइने यस पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिँदो छ ।
मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्व यो क्षेत्रको सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् ।
चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् ।
यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिनपहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सद मिलाउन लागेका देखिँदो छ ।
घरबाट काम विशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले चेलीहरु खुशीले दङ्ग देखिन्छन् ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका कथन छ ।
सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ ।
पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे÷भए पनि दिदी बहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको जलेश्वर नगरपालिका सुगाभवानीपट्टीका ८६ वर्षीय कृष्णचन्द्र झा बताउँछन् ।
पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै उजेलिएको आम मिथिलावासी बताउँछन् ।
पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन अझै देखिँदैछ ।
पर्वमा व्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ ।
विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यस पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ ।
पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधीदिन पर्वको तयारीमा लागिपरेका छन् ।
पछिल्ला दिनमा पर्व हिन्दू धर्मावलम्बीको मानिदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर राखी बाँध्ने चलन बढ्न थालेको छ ।
यस पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको रामगोपालपुर नगरपालिकाको बिसबिट्टी बस्तीका सामाजिक एवं राजनीतिक कार्यकर्ता इस्लाम धर्मावलम्बी ५० वर्षीय कादिर हुसैन बताउँछन् ।
तपाईको प्रतिक्रिया