काठमाडौं, ३० भाद्र । बलिउड फिल्म उचाईको निर्देशकसहितको टोली मनाङ, लुक्ला, लाङटाङ लगायतका हिमाली थलोहरुमा सुटिङ लोकेसनको खोजी गरेर मुम्बई फर्किएको छ ।
अक्टोबर २ मा नेपाल आइपुग्ने फिल्म क्रिउले अक्टोबर ४ देखि काठमाडौंदेखि फिल्म सुटिङ सुरु गर्ने भएको छ ।
यसैसाता निर्देशक सुरज वर्जत्यसहितको टोली नेपालमा लोकेसन हन्टिङ गरेर भारत फर्किएको छ । फिल्मको नेपाल व्यवस्थापक थ्री हिवलर्स कम्पनीका अनुसार अक्टोबर ४ मा काठमाडौंका केही लोकेसनबाट फिल्मांकन सुरु हुनेछ ।
निर्देशक सुरज वर्जत्यको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ पुगेका थिए । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर फिल्म छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।
सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकन पश्चात् टोली काठमाडौँ फर्किएर सगरमाथा आधारशिविरमा पनि छायाङ्कनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज आचार्यले जानकारी दिए ।
उनका अनुसार मनाङमा १० दिन सो फिल्मको छायाङ्कन हुनेछ । यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, बोमन ईरानी, परिणिती चोपडाको कलाकारको मुख्य भूमिका रहनेछ ।
दुई साता अगाडि पनि टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।
तपाईको प्रतिक्रिया