सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक शुक्रलाई अग्रता

कला/संस्कृति

धरान, १३ पुस । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो  दिन नेपाल नम्बर एक शुक्र बहादुर राई चार स्ट्रोकको अग्रता बनाउन सफल भएका छन्।
 
पार-७० को धरान गल्फ क्लबको कोर्समा उनले बोगी रहित ६-अन्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०-अन्डर १ सय ३० को सानदार स्कोर बनाए। यो स्कोरमा उनले पहिलो दिनका लिडर निरज तामाङलाई चार स्ट्रोकले पछि पारेका छन्। दोस्रो दिन निरजले १-अन्डर  ६९ खेल्दै समग्रमा ६-अन्डर १ सय ३४ स्कोर जोडे। सञ्जय लामाले इभन-पार ७० खेल्दै ४-अन्डर १ सय ३६ सहित तेस्रो स्थानमा दोस्रो दिनको खेल सकाए। भुवन नगरकोटीले दोस्रो दिनको खेल इभन-पार ७० मा सकाउदा कुल ३-अन्डर १ सय ३७ स्कोर सहित चौथो स्थानमा रहे।
 
एमेच्योर खेलाडी राजकुमार राई ३-अन्डर ६७ को स्कोरमा समग्रमा २-अन्डर १ सय ३८ को नतिजामा पाँचौ स्थानमा रहे। दोस्रो दिन ४-अन्डर ६६ को सानदार प्रदर्शन गरेका धन बहादुर थापा समग्रमा १-अन्डर १ सय ३९ सहित छैटौ स्थानमा उक्लिए।‌ जयराम श्रेष्ठले दोस्रो दिन १-ओभर ७१ को स्कोर कार्ड बनाउदा कुल १-ओभर १ सय ४१ सहित सातौ स्थानमा रहेका छन्। 
 
यसैगरी इभन-पार ७० खेलेका रामे मगर कुल १ सय ४२ स्कोर सहित आठौ स्थानमा रहदा १-ओभर ७१ खेलेका दिनेश प्रजापति र सुर्य प्रसाद शर्मा १ सय ४३ स्कोर सहित संयुक्तरुपमा नवौ स्थानमा छन्। 
 
एमेच्योरतर्फ राजकुमार राईले युवराज भुजेललाई ६ स्ट्रोकले पछि पारे। युवराजले दोस्रो दिन १-ओभर ७१ को स्कोरमा स्थानीय प्रो बलभद्र राईसँग ११ औ स्थान बाडे। बलभद्रले दोस्रो दिन २-ओभर ७२ मा खेल सकाए। 
 
३६ होलको समाप्तीमा अग्रता बनाउने क्रममा शुक्रले ४-अन्डर ३२ मा फ्रन्ट नाइन सकाए। पहिलो चार होलमा पार बचाएका उनले पाँचौ, छैटौ, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। यसपछि उनले १२औं र १५ औं होलको बर्डीको मद्दतले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे। 
 
निरजले फ्रन्ट नाइन २-अन्डर ३४ मा र ब्याक नाइन १-ओभर ३५ मा सकाए। फ्रन्ट नाइनको तेस्रो, पाँचौ र सातौ होलमा‌ बर्डी प्रहार गरेका निरजले चौथो र १३ औं होलमा एक-एक सट खेर फाले। 
 
यसैगरी सञ्जय लामाले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। उनले चौथो र सातौ होलमा बोगी खेल्दा पाँचौ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३३ मा सकाउने क्रममा १० औं, १५औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दा ११औं र १५औं होलमा एक-एक सट गुमाए।‌
 
३६ होलको समाप्तीमा कुल १४-ओभर १ सय ४४ सम्म स्कोर जोडेका २१ जना व्यवसायीक तथा ६ जना एमेच्योेर खेलाडीहरूले कट बनाए। प्रोफेसनलतर्फ दीपक मगर, भुवन कुमार रोक्का, दीपक आचार्य, टंक बहादुर कार्की, रमेश अधिकारी, सबिन सापकोटा, थाम बहादुर राई, रबि खड्का, दल बहादुर लामा, कमल तामाङ र पशुपति शर्माले‌ अन्तिम १८ होलको खेलको लागि स्थान पक्का गरे। 
 
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र  ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन्। 
 
कुल आठ लाख  पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन्। उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ