ग्रामीमा छाए बु्रनो मार्स

कला/संस्कृति

1/30/2018

काठमाडौँ — यस पटकको ग्रामी अवार्ड ब्रुनो मार्स र केन्ड्रिक लमारका पक्षमा रहयो । अवार्डको ६०औं संस्करणको मुख्य विधामा यी दुईका गीतले एकपछि अर्को ट्रफी जिते । गायक एवं कोरियोग्राफर ब्रुनोले सर्वाधिक सात अवार्ड पाए ।

एल्बम अफ द इयर र रेकर्ड अफ द इयर विधामा उनको ‘२४ के म्याजिक’ लाई बेस्ट मानियो भने ‘दयाट्स हाट आई लाइक...’ लाई वर्षको सर्वोत्कृष्ट गीत घोषणा गरियो । यसरी उनी ग्रामी, २०१८ का बिगेस्ट विनर बन्न सफल भए ।

अमेरिकास्थित न्युयोर्कको म्याडिसन सिटी गार्डेनमा आइतबार सम्पन्न कार्यक्रमको सांगीतिक उद्घाटन केन्ड्रिकले गरेका थिए । उनैले र्‍यापतिरका प्रमुख विधामा अवार्ड जिते । बेस्ट र्‍याप एल्बम र र्‍याप पर्फमेन्स गरी पाँच विधाका ट्रफी उनले घर लग्न पाए । ब्रुनोले आर एन्ड बी वा पपुलर विधातिर अवार्ड जितिरहँदा केन्ड्रिक र्‍याप विधामा चम्किएका थिए ।

बेस्ट न्यु आर्टिस्टको ट्रफी एलेसिया काराले पाइन् । एड सिरनलाई पप विधाको बेस्ट एल्बम र बेस्ट पप भोकल पर्फमेन्स अवार्ड हात लाग्यो । ‘डिभाइड’ एल्बम र त्यसमै समाविष्ट ‘सेप अफ यु...’ सर्वोकृष्ट गीत मानियो ।

यस पालिको ग्रामीमा सबैभन्दा दु:खी कोही भयो भने, ती थिए दिग्गज र्‍यापर जे जेड । उनी सर्वाधिक आठ विधामा मनोनीत भए पनि एउटै अवार्ड पाएनन् । केन्ड्रिकले ट्रफी ग्रहणपछि आफ्ना अग्रज जे जेडप्रति सम्मान दर्साए । पोहोर जे जेडकै पत्नी बियोन्सेले पनि निकै अपेक्षा गरेको ‘एल्बम अफ द इयर’ मा खाली हात हुनुपरेको थियो ।
 
उनलाई एडेलले निराश पारेकी थिइन् । त्यो बेला एडेलले मुख्य विधाहरूमा अवार्ड जितेर महिला आर्टिस्टको प्रतिनिधित्व गरे पनि यस पालि त्यसो हुन सकेन । अवार्ड जित्ने महिला संगीतकर्मी न्यून रहे ।
 
संयोग कस्तो भने, ग्रामीमा यो पटक महिलाविरुद्धको यौनहिंसा अभियान ‘टाइम्स अप’ र ‘हयास टयाग मी टु’ प्रति सद्भाव व्यक्त गरियो । यौनहिंसा पीडितको सहयोगार्थ कतिपय आर्टिस्ट सेतो गुलाफ प्रिन्टेड पहिरनमा उपस्थित थिए ।
 
महिलाप्रति यस्तो सम्मान देखाएर लैंगिक एकताको प्रवद्र्धन गर्न खोजिए पनि अवार्डका प्रमुख पाँचमध्ये एउटा विधा (न्यु आर्टिस्ट) मा मात्रै महिलाले ट्रफी चुम्नुलाई विडम्बना मानिएको छ । ग्रामीका कुल ८६ विधामध्ये १७ वटामा मात्रै महिला (ब्यान्ड वा सोलो) आर्टिस्टले अवार्ड जिते ।
 
ट्रफी जित्नेमा पुरुषहरूको वर्चस्व रहे पनि समारोहमा महिला आर्टिस्टको प्रस्तुति भव्य रहयो । गायिका केसाले सिन्डी लोपर र कामिला कबेयोसँग ‘प्रेयिङ...’ गीत प्रस्तुत गरेकी थिइन् । यौन दुव्र्यवहारमा पर्दाको आफ्नो तीतो अनुभव उनले गीतमार्फत सुनाएकी थिइन् ।
 
लेडी गागा, साम स्मिथ, पिंकलगायत सेलेब्रिटीले पनि दमदार प्रस्तुति दिए ।
 
ट्रम्पको ट्रोल
ग्रामीका होस्ट जेम्स कोर्डनले समारोहमा एउटा सर्ट भिडियो प्रदर्शन गरे । त्यसमा पूर्वराष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मजाक गरेको देखिन्छ । भिडियोमा उनले माइकल उल्फको पुस्तक ‘फायर एन्ड फरी : इन्साइड द ट्रम्पह्वाइटहाउस’ को एउटा अनुच्छेद पढिरहेको दृश्य समेटिएको छ ।
 
राम्रो पढ्नेलाई ‘अर्को साल बेस्ट स्पोकन वर्ड एल्बम’ अवार्ड दिने भन्दै रिफ्रेसमेन्टका लागि उक्त भिडियो बनाइएको थियो ।
हिलारीसँगै र्‍यापर स्नुप डग, गायक जोन लिजेन्डलगायतलाई समेटिएको उक्त भिडियोले विवाद सिर्जना गरेको छ । टीभीमा ग्रामी अवार्ड लाइभ हेर्नेमध्ये केहीले उक्त भिडियोलाई लिएर आपत्ति जनाइरहेका छन् ।
 
अमेरिकाका लागि संयुक्त राष्ट्रसंघकी राजदूत निकी हलीले यस्तो मजाक अपाच्य भएको भन्दै ट्वीट गरेकी छन् । ‘मलाई ग्रामी सधंै मन पथ्र्यो,’ उनले लेखेकी छन्, ‘तर, आर्टिस्टहरूले त्यस्तो किताब पढेर यसको गरिमा भत्काएका छन् । कबाडी चीज राखेर सांगीतिक माहोल नबिगारियोस् । हामीमध्ये केहीलाई संगीतमा राजनीति नमिसाएकै मन पर्छ ।’
-एजेन्सी
 
मुख्य अवार्ड विजेता
एल्बम अफ द इयरब्रुनो मार्स, २४ के म्याजिक
रेकर्ड अफ द इयरब्रुनो मार्स, २४ के म्याजिक
सङ अफ द इयरब्रुनो मार्स, दयाट्स हाट आई लाइक...
बेस्ट न्यु आर्टिस्टएलेसिया कारा
बेस्ट पप एल्बमएड सिरन, डिभाइड
बेस्ट र्‍याप एल्बमकेन्ड्रिक लमार, डयाम
 
समाचार श्रोत: कान्तिपुर

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ