‘छाला कालो भइदिएको भए यति लोकप्रिय हुन्नथिन्’

कला/संस्कृति

2/9/2018

काठमाडौँ — सन् २०१६ को ग्रामी अवार्डमा बेलायती गायिका एडेल र अमेरिकी गायिका बियोन्सेबीच कडा प्रतिस्पर्धा थियो । दुवैका गीत प्रमुख विधामा मनोनीत थिए । तर, अवार्ड जितिन् एडेलले । बियोन्सेका गीत ‘सानातिना विधा’ मा उत्कृष्ट बने ।

त्यस्तो किन भयो ? रोलिङ स्टोनलगायत म्यागाजिनले खुलेआम लेखे, ‘किनकि बियोन्से अश्वेत हुन्, ग्रामीका भोटर्स श्वेत ।’
एडेल स्वयंले पनि अवार्डको असली हकदार क्विन बी अर्थात् बियोन्से हुनुपर्ने भन्दै लामो भावुक भाषण गरेकी थिइन् ।
रंगभेद पश्चिमा मुलुकहरूको पुरानो समस्या हो । जतिसुकै सभ्य वा पढेलेखा देखिए पनि त्यहाँको मानसिकता विभेदकारी नै पाइन्छ । रंग, जाति र वर्ग विभेद अमेरिकामा झनै व्याप्त छ । बियोन्सेकै प्रसंगले पनि यो कुरा स्वीकार्न कर लगाउँछ । छालाको रंगले माइकल ज्याक्सनजस्ता पुरुष सेलिब्रिटीलाई त असुरक्षित महसुस गरायो भने महिला आर्टिस्टका लागि यो झन् ठूलो चुनौती बन्ने गरेको छ ।
बियोन्सेका पिता म्याथ्यु नोलेस हिजोआज रंगभेदबारे चर्को बोली गरिरहेका छन् । उनले छोरीकै बारे पनि तीतो यथार्थ सुनाए । ‘कालो छाला भइदिएको भए बियोन्से कदापि चर्चित हुन सक्दिनथिन्,’ उनले भनेका छन् । रंगभेद र जातिवादसम्बन्धी ‘रेसिजम : फ्रम द आइज अफ अ चाइल्ड’ शीर्षक पुस्तकसमेत लेखेका म्याथ्यु आफूलाई युवा उमेरमा गोरा वा गहुँगोरा महिलासँग मात्र डेट गर्ने अनुमति दिइएको बताउँछन् ।
‘मेरी आमा मलाई काली केटी घरमा ल्याउने होइन भन्नुहुन्थ्यो,’ म्याथ्युले भनेका छन्, ‘मेरी जेठी श्रीमती टिनालाई मेरो परिवारले गोरी ठानेर स्विकार्‍यो । तर, उनको छाला मात्र गहुँगोरो हो, उनी अश्वेत नै हुन् ।’ टिनासँग बिहे गर्नुअघि आफूले गोरा देखिने काला जातिका महिलासँगडेट गर्ने गरेको उनले स्विकारेका छन् ।
बियोन्से र उनका पिताबीच राम्रो सम्बन्ध छैन । बाबुले आफ्नो म्यानेजरका रूपमा काम गर्न छोडेपछि छोरी रिसाइन् । गायिकाले आफ्नो पछिल्लो एल्बम ‘लेमोनेड’ मा बाबुसँगको सम्बन्धबारे समीक्षा गरेकी थिइन् । अहिले यस्तो कुरा आएपछि उनी झनै क्रुद्ध होलिन् कि ठीकै मान्लिन् ? त्यो उनकै कुरा भयो । म्याथ्युचाहिँ जोडतोडले आफ्नो भनाइ प्रचार गरिरहेका छन् । उनले छोरीको ‘लाइट स्किन’ नै उनको सफलताको रहस्य भएको दोहोर्‍याइरहेका छन् ।
‘अश्वेत गायिकाबारे कुरा गर्दा कसको गीत रेडियो/टीभीमा बज्छ भन्ने प्रश्न जायज हुन आउँछ’, म्याथ्युको तर्क छ, ‘मराया क्यारे, रिहाना, निकी मिनाज कि मेरा छोरी (बियोन्से र सोलान्ज) ? यी सबैबीच के समानता छ ?’ उनले उल्लेख गरेकाहरू गाढा कालो नभई हल्का काला वा पेल रङका गायिका हुन् । उनीहरू गाढा कालो छालाका भइदिएका भए यो सफलता असम्भव हुने म्याथ्युको दाबी छ ।
 
- कान्तिपुर

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ