मधेश आन्दोलन कसैको “जागीर” होइन

विचार/दृष्टिकोण

पशुपतिनाथ झा मधेशी

मधेश आन्दोलन आजकै भनाउने नेताहरुले मात्रै गरेका रहेनछ । मधेश आन्दोलन मधेशी जनचेतनाको प्रतीक हो । समय–समयमा विभिन्न नेताहरु र मधेशका आमजनताहरुले मधेशका लागि आफ्ना योगदान र बलिदान दिएकै हो । मधेशी आमजनता र मधेशका अनगिनत अगुवा र सुभचिन्तकहरुले मधेश र मधेशी हकहितका लागि आफ्ना रगत बगाएकै हो । आफ्ना सर्वस्व दिएकै हो ।

सन् १९५० आजभन्दा करीब ७५ वर्ष अगाडि नै मधेशको अमर शहीद स्व. श्री रघुनाथ ठाकुर जीले मधेश र मधेशी आम जनताको हकहितका लागि मधेश आन्दोलनको शुरुवात गर्नुभएको थियो । त्यै ताका उहाँले मधेश जनक्रान्तिकारी दलको स्थापना गरेर मधेश र मधेशी आम जनताहरुका लागि आवाज उठाउने शुरुवात गर्नुभएको थियो । उहाँले आफु बाँचुञ्जेल धेरै संघर्ष गर्नुभएको थियो । भारतमा पुगेर उहाँले धेरैजसो राष्ट्रिय नेताहरुलाई भेटे, जसमा श्रीमती इन्दिरा गान्धी समेत हुनुहुन्थ्यो । उहाँले भारतीय नेताहरुसँग मधेश र मधेशी जनताहरुका समस्याको बारेमा आफ्ना कुराहरु राखेका थिए र छलफल गरेका थिए । मधेश र मधेशी जनताको हकहितका लागि संघर्ष गर्दा गर्दै सन् १९८१ मा उहाँको निधन भयो ।

फेरि सन् १९५१ तिर नै श्री बेदानन्द झाज्यूको नेतृत्वमा मधेशी हकहितको लागि तराई–कांग्रेस पार्टीको पनि स्थापना भयो । तत्कालीन कांग्रेस पार्टीले मधेशीहरुसँग भेदभाव गरेकै आधारमा मधेश र मधेशीहरुको हकहितलाई ध्यानमा राखेर तराई कांग्रेस पार्टीको स्थापना भएको थियो ।
त्यस्तै, सन् १९८५ मा सम्मानीय नेता गजेन्द्र नारायण सिंहज्यूको नेतृत्वमा नेपाल सद्भावना पार्टीको स्थापना भयो । नेपाल सद्भावना पार्टीको उद्देश्य पनि मधेश र मधेशी जनताकै हकहितका लागि थियो । मधेशी जनतासँग भैरहेको भेदभाव र मधेशी जनताले आत्मनिर्णयको अधिकार पाओस् भन्ने उहाँको अभिप्राय थियो । मधेशको पूर्वदेखि पश्चिमसम्म नेपाल सद्भावना पार्टीले मधेशी जनतामाथि पकड पनि बनायो । मलाई याद छ, पहिलो चुनावमै नेपाल सद्भावना पार्टीले ६–७ वटा सीट जितेको थियो । तर केही वर्षमै आपसी टुटफुट र मतभेदका कारण नेपाल सद््भावना पार्टी पनि कमजोर हुँदै गयो ।

सन् २००७ मा उपेन्द्र यादवज्यूको नेतृत्वमा मधेशी जनाधिकार फोरमले नेतृत्व लियो । फोरमको नेतृत्वमा संविधानको प्रतिलिपि जलाइयो । धेरै मधेशी आन्दोलनकारीहरु समातिए । आन्दोलन काठमांडूदेखि पुरै मधेशमा चर्किँदै गयो । मधेशको सम्पूर्ण आन्दोलन अब फोरमको छाता मुनि हून थाल्यो । यही आन्दोलनको बीचमा रमेश महतोको हत्या गरियो । साथै २१ मार्च २००७ मा गौर घटना हुन गयो । गौर घटनामा धेरै मान्छे मारिनुको साथै कति मान्छे त बेपता नै पारियो । फोरमले गरेको आन्दोलनमा नेपाल सरकारसँग २२ बुँदे समझौता भयो । यहींबाट विगत र वर्तमानमा हुँदै भएका मधेश आन्दोलनले स्थायीत्व पायो । यो मधेश आन्दोलनलाई मधेश आन्दोलन पहिलो भनेर नामाकरण गरियो । मधेशको इतिहासमा पहिलो मधेश आन्दोलन भनेको यही हो ।

त्यसपछि नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरुमा लागेका धेरै नेताहरु मधेशको राजनीतिमा लामबद्ध भए । धेरै मधेशी नेताहरु २२ बुँदे सम्झौता मानेनन् । मधेश आन्दोलन दोस्रोको आघाज भयो । नेपाल सरकार र यी नेताहरुका बीचमा ८ बुँदे सम्झौता भयो । यहाँसम्म पुग्दै मधेशमा आन्दोलनको चरण रोकियो । आन्दोलन त रोकियो तर नेपाल सरकारले कुनै पनि समझौतासँग इमान्दार रहेन । कुनै पनि सम्झौताको पालना गरिएन । उता माओवादी पार्टीबाट असन्तुष्ट भएका माओवादी पार्टीका नेता जयकृष्ण गोइतज्यू स्वतन्त्र तराईको माग राख्दै सशस्त्र आन्दोलनको बिगुल बजाउँदै आजसम्म पनि भारतमै निर्वासित जीवन बिताइरहन बाध्य भए । यहीं समयमा डा.सीके राउतज्यूले स्वतन्त्र मधेशको हरण बजाउँदै नेपालको राजनीतिमा नयाँ तरंग ल्याउनु भयो । पछि डा. साहेबको जनमत पार्टीको चुनाव चिन्ह पनि हरण छाप नै रह्यो ।

पहिलो र दोश्रो संविधान सभाको चुनाव हुँदै वि.सं. २०७२ सालमा नेपालको जनताले नयाँ संविधान पायो । यस संविधानमा मधेश आन्दोलन र मधेशीहरुसँग गरिएको सम्झौताहरुलाई सम्पूर्ण बेवास्ता गरियो । मधेशी नेता र मधेशी आम जनताहरुले यस संविधानको विरोध स्वरुप तेस्रो मधेश जनआन्दोलनको सुरुवात गरे । आन्दोलन अभूतपूर्व र लामो चल्यो । आन्दोलनको इतिहासमा लगभग ६ महिना लामो आन्दोलनको रुपमा कीर्तिमान स्थापित भयो । तर जे जति आन्दोलन गरे पनि अन्त्यमा केही न लागेर आन्दोलनमा सयौं मधेशी जनताहरुले सहादत दिए पनि मधेश र मधेशी आम जनताको केही लागेन । मधेशका नेताहरुले नै त्यत्रा जनआन्दोलन तुहायो भन्ने आम जनताले आरोप लगाए । मधेश आन्दोलनको पुरै बेवास्ता गरियो । मधेशी नेता र मधेशी जनता निरीह भएर बाँच्न बाध्य भए । तेश्रो मधेश आन्दोलनसँगै यहीं संविधानमा रमाउन बाध्य भए मधेशका आमजनताहरु ।

समग्रमा के छ भने मधेश आन्दोलन समय हिसाबले चलि नै रहने हो । यो आन्दोलन मधेश र मधेशी माथि भैरहेको अन्याय, अत्याचार र मधेशीहरुको हकहितका लागि हुने हो । यो आन्दोलनको आडमा कसैले केही दिन मात्रै व्यक्तिगत फाइदा उठाउन सकला । मधेशी आम जनता अब त्यति बुझ्न सजग भैसकेका छन् कि केही नेताहरु हाम्रो मधेशप्रतिको सम्बेदनालाई आफ्नो फाइदाको रुपमा उपयोग गरिराखेका छन् । त्यसैले कोही पनि मधेशी नेता आफ्नै चुनाव क्षेत्रबाट पटक–पटक चुनाव जित्न सकिरहेका छैनन् । तर दुर्भाग्य त यो छ कि मधेशले अहिलेसम्म ईमानदार, त्यागी र मधेशका हकहितका लागि मरी मिटने नेता पाएको छैन । मैले गर्दा नै मधेश आन्दोलन भएको छ र मैले नै मधेश आन्दोलन गराएको छु भनेर धाक नलगाए हुन्छ ।

आन्दोलन भनेको समयको माग हो । फेरि जुन दिन मधेशी आमजनतालाई लाग्ला कि आन्दोलन हुनु प¥यो त्यो दिन स्वस्फूर्त आन्दोलन हुन्छ नै । आन्दोलन भनेको बदलाबका लागि हो र त्यो कुरा समयले निर्धारित गर्ने हो कुनै नेताले होइन । हो, आन्दोलनमा कोही न कोही नेता हुन्छ तर को हुन्छ त्यों अहिले नै भन्न सकिदैन । तसर्थ हामी हेर्दै जाउँ फेरि पनि मधेश आन्दोलन हुने नै हो र त्यों आन्दोलनले नै मधेशको दिशा र दशालाई निर्धारित गर्ने हो । जय हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ