प्रहरी हिरासतमा स्वतन्त्र मधेश गठबन्धनका नेता यादवको मृत्यु

समाचार

9/16/2018

बाँके, १६ भाद्र । बर्दिया जिल्ला प्रहरीको हिरासतमा रहेका बाँके गनापुर कपासी (जानकी गाउँपालिका–६) बस्ने स्वतन्त्र मधेश गठबन्धन बाँके जिल्लाका नेता राम मनोहर यादवको हिरासतमैं मृत्यु भएको छ । 

उपचारको क्रममा काठमाडौं लैजाँदै गर्दा शुक्रबार राती करीब २ बजे बाटोमै मृत्यु भएको गठबन्धनका नेता जासर यादवले जनाएका छन् । बुधबार राती हिरासतमा हाथखुट्टा नचल्ने भएपछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम वर्मालाई नेपाल प्रहरीले भाद्र ७ गते बिहीबार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राउ गरी राज्यविप्लवको मुद्दामा म्याद थप गरिको थियो । 

उनीहरुले प्रश्न सोध्न सक्ने भनेर आशंकाकै आधारमा बाहिर बोलाएर पक्राउ गरिएको गठबन्धनले जनाएको छ । सोही क्रममा पक्राउ भएका मध्ये हरपाल सिंह, इरफान शेख र राजितराम वर्मा जिल्ला प्रहरी कार्यालय, बर्दियाको हिरासत गुलरियामै रहेका छन् ।

यस भन्दा अगाडि, २०७२ साल चैत्र ६ गते नेपालगञ्जको महेन्द्रपार्कबाट समातेर यादव सहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो । सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ साल फाल्गुण ३ गते सफाई दिएकोथियो । 

२०७३ साल मंसीर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगञ्जमा आयोजना गरेको ’रंगभेदी दिवस’ को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसीर १२ गते मात्रै छोडेको थियो । २०७४ साल आषाढ़ २ गते पनि स्थानीय निर्वाचन अगाडि ’नो भोट’ को प्रचारप्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राऊ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा आषाढ़ १९ गते यादवलाई रिहा गरिएको थियो ।

प्रहरीले बिना कसूर र आधार पटक–पटक पक्राउ गरी यातना दिने गरेको विषयमा २०७३ साल मंसीर १४ गते यादवसहित चारै जनाले नेपाल राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर ज्ञापनपत्र समेत दिएका थिए ।

३० वर्षीय यादवका २ छोरा र १ छोरी छन् भने बुवाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ