धार्मिक सहिष्णुतालाई मजबुत बनाउदै छठ पर्व : सांसद यादव

राजनीति

11/11/2018

वीरगञ्ज, २४ कार्तिक । हिन्दूहरुको महान पर्व छठको अवसरमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले छठघाटहरुको निरीक्षण तथा अवलोकन गरेका छन् ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा सांसद यादवले रानीघाट, पिपरा लगायतका छठघाटहरुको अवलोकन तथा निरीक्षण गरेका हुन् ।

अवलोकनको क्रममा सांसद यादवले खासगरी नेपालको तराई–मधेशमा भव्यताका साथ मनाइने छठ पर्वको विशेष धार्मिक महत्व रहेको बताए ।

विशेषगरी नेपालको तराई–मधेशमा मात्र मनाइने छठ पर्व अहिले राजधानी काठमाडौँ लगायत मुलुकभर विशेष आस्थाका साथ मनाइने गरिन्छ ।

यस्तै यो पर्व मुस्लिमलगायत अन्य धर्मावलम्बीले पनि उत्तिकै हर्षाेल्लासका साथ मनाउने गरेका छन् । मुलुकमा जातीय, क्षेत्रीय सद्भावको अभाव खड्किरहेको वर्तमान अवस्थामा पहाडी, मधेशी, मुसलमान, धनी, गरिब सबैले मनाउने यस पर्वले नेपालीबीच जातीय क्षेत्रीय सद्भाव र एकता धार्मिक सहिष्णुतालाई अझ मजबुत बनाउनमा मद्दत पु¥याइरहेको सांसद यादवले बताए ।

साथै छठघाट सजावटका लागि आफुले सक्दो सहयोग गर्ने उनले बताए । अवलोकन भ्रमणमा जिल्ला सह ईन्चार्ज रामनरेश यादव, जिल्ला सदस्य तबरेज अहमद, पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलम, नगर उपाध्यक्ष घनश्याम गुप्ता, जिल्ला सदस्य मुस्तकीम अंसारी लगायतको उपस्थिती रहेको स्वकीय सचिव निखिल वर्णवालले बताए ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व तराई मधेसका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउदो र उदाउदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व चार दिनसम्म धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ