काठमाडौं, ९ मंसिर । २०७४ बैशाख ७ गते मधेशका ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालभित्र नेतृत्व हेरफेर भएसँगै यसभित्रको विवाद छताछुल्ल भएको छ ।
राजपा गठन हुँदा अध्यक्षमण्डलको संयोजक रहेका महन्थ ठाकुरलाई हटाएर पार्टीले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई नयाँ संयोजक तोकेको छ ।
महन्थ ठाकुरको तराई–मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकीकरण भएर राजपा घोषणा भएको हो ।
राजपा एकता हुँदा दुई–दुई महिनामा पालैपालो अध्यक्षमण्डलको संयोजक बन्ने सहमति भएको थियो । डेढ वर्षदेखि ठाकुर एक्लै संयोजकमा रहेपछि आलोचना हुँदै आएको थियोर । तर अन्ततः मंसिर ४ गते अध्यक्षमण्डलको बैठकमा ठाकुर संयोजक पद छाड्न राजी भए । अब निवर्तमान संयोजक महन्थ ठाकुर स्वतः अध्यक्षमण्डलको सदस्य रहनेछन् ।
विधानमा भएको व्यवस्थाअनुसार ५ माघसम्म (दुई महिना) महतो संयोजक हुनेछन् । त्यसपछि क्रमशः वष्ठिताका आधारमा महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झा संयोजक बन्ने छन् ।
तर, निर्णयअनुसार आगामी ७ देखि ९ बैशाखसम्म पार्टी महाधिवेशन भए सबै सदस्य संयोजक बन्ने पालो आउने सम्भावना भने देखिँदैन ।
यसअघि बसेको पार्टी राजनीतिक समितिको बैठकले महाधिवेशनपछि अध्यक्षमण्डल नरहने भन्ने निर्णय गरिसेकको छ । महाधिवेशन पछि अध्यक्षमण्डल नरहने निर्णय राजनीतिक समितिको बैठकले गरिसकेको छ ।
‘निर्धारित समयमै महाधिवेशनको सुनिश्चितता गर्न, पार्टीको सर्वोच्च निकायमा सामूहिक नेतृत्वको अभ्यासलाई निरन्तरता दिन, संगठनको विकास र विस्तार कार्यलाई गतिशीलता प्रदान गर्न पार्टीका नेता–कार्यकर्ताबीच अनुशासन कायम राख्न पार्टीको विधानअनुसार अध्यक्षमण्डलको नेतृत्व चक्रीय प्रणालीअनुसार सञ्चालन गर्ने बहुमतबाट निर्णय गरिएको छ,’ बैठकपछि संयोजक ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयोजकबाट ठाकुर हटेसँगै संयोजकका हैसियतमा उनले पार्टीमा गरेका नियुक्ति पनि रद्द गरिएको छ । २०७४ असार ३० गते निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा रहेको ८ सय १५ जनाको केन्द्रीय समिति कायम रहने, त्यसपछि संयोजकका हैसियतमा ठाकुरले मनोनित र नियुक्त गरेका सदस्य र पदाधिकारीको नियुक्ति रद्द भएको छ ।
अन्य नेताहरूले असन्तुष्टि जनाएकाले ठाकुरले मनोनीत गरेका नेताहरूको नाम पार्टीका कुनै पनि कागजातमा उल्लेख थिएन । बैठकमा पनि अन्य पाँच नेता मनोनयन रद्द गर्नेमा एकमत भएपछि ठाकुरले सहमति जनाएका थिए ।
ठाकुरले महासचिवमा मनोनित गरेका विनोद सिंह अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । त्यस्तै महासचिवमा मनोनित जयप्रकाश ठाकुर, शशीकपुर मियाँ, पुरूषोत्तम झा र उपमहासचिवमा मनोनित कुमारनाथ मिश्र, परमेश्वर शाह र अरविन्द्र साहलगायत पदाधिकारी र सदस्यको मनोनयन रद्द भएको छ ।
बैठकमा विधानअनुरूप चक्रीय प्रणालीमा पार्टी नेतृत्व गर्नुपर्ने प्रस्ताव आएपछि संयोजक महन्थ ठाकुरले कुनै प्रकारको प्रतिरोध गरेनन् । ‘तपाईंहरूको निर्णय विपरित म जान सक्दिन’ भन्दै उनले प्रस्ताव र निर्णय गर्न नेताहरूलाई आग्रह गरे । नेतृत्व परिवर्तनको प्रस्ताव आएपनि ठाकुर न चकित भए न त त्यसको प्रतिरोध नै गरे ।
मानौं उनी सुरूदेखि नै संयोजकको पद हस्तान्तणका लागि तम्तयार थिए । यद्यपी नेतृत्व परिवर्तनको प्रस्तावलाई रोक्ने प्रयास झाले गरे तर उनको केही चलेनन् । उनले पार्टी महाधिवेशनसम्म ठाकुरकै नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्ने तर्क गरे पनि अध्यक्षमण्डलका अन्य सदस्यहरू सहमत भएनन् ।
अन्तरकलहको चक्रव्यूह
चक्रीय प्रणालीअन्तर्गत संयोजक फेरिए पनि पार्टीभित्रको विवाद केन्द्रदेखि स्थानीयस्तरसम्म यथावतै रहेको छ ।
पार्टी एकीकृत भएको डेढ वर्ष बित्न लाग्दा पनि अझै महाधिवेशन हुन सकेको छैन । वडादेखि जिल्लासम्मको अधिवेशन हुन अझै बाँकी नै छ । पार्टीको केन्द्रीय समितिदेखि लिएर जिल्ला समितिसम्ममा ६ जना अध्यक्षको अध्यक्षमण्डल रहने व्यवस्था अझै कायम छ ।
यद्यपि लामो समय बितिसक्दा पनि केन्द्रदेखि वडास्तरसम्म अधिवेशन नहुनु, अधिवेशन तयारीको क्रममा आ–आफ्नो गुट–उपगुटको संरक्षणमा केन्द्रदेखि जिल्लास्तरका नेता खुलेरै लाग्नु, पार्टी नेतृत्व गर्ने विभिन्न समितिदेखि लिएर विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनलाई समायोजित गर्न नसक्नु जस्ता समस्याले पार्टीभित्रको आन्तरिक विवाद अब खुलेर सडकमै छताछुल्ल भएको छ ।
के भयो बैठकमा
संयोजक ठाकुरलाई हटाउन नेता झा बाहेक अन्य सदस्यहरूको कडा मोर्चाबन्दी बनेको थियो । गत कार्तिक १३ गते महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलामा ठाकुर र झाबाहेकका चार सदस्यको बैठकमा ठाकुरको बहिर्गमन र महतोको रथारोहणको योजना बनेको थियो ।
बैठकमा अध्यक्षमण्डलका सदस्यहरू महतो, यादव, भण्डारी र राजकिशोरले ठाकुरको आत्मकेन्द्रित र तत्कालीन तमलोपासम्बद्ध नेताकार्यकर्तालाई प्रोत्साहित गर्ने कार्यशैलीका बारेमा लेखाजोखा गरेका थिए ।
ठाकुरको कामकाजबाट पार्टी संगठन सुस्त भएको र आफ्ना समर्थक नेताकार्यकर्ता निरूत्साहित बनेको तथा यसकारण आसन्न पार्टी महाधिवेशनमा तत्कालीन तमलोपासम्बद्धहरूकै हालीमुहाली रहने उनीहरूले आकलन गरेका थिए । मंसिर ४ गते ठाकुरको बहिर्गमन त्यही योजनाअनुसार भएको हो र अन्नतः महतो आफनो योजनामा सफल पनि भए ।
सरकारबारे अझै कुर्ने
पार्टीको बैठकले नेतृत्व परिवर्तन गरे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने बारे कुनै छलफल गरेन । राजपाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने की अझै केही समय कुर्ने भन्नेमा नेताहरूबीच विवाद रहँदा केही समय कुर्ने निष्कर्षमा पुगेका हुन् । अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले भने, ‘हामी केही दिन परिस्थिति हेर्छौं । त्यसपछि मात्र समर्थन फिर्ता लिने विषयमा निर्णय गर्छौ ।’
राजपाका दोस्रो तहका नेताहरू भने सरकारलाई दिएको समर्थन फिर्ता लिई पार्टी तत्काल आन्दोलनमा जान नेतृत्वलाई दबाब दिदै अएका छन् ।
राजपा अध्यक्षमण्डलका सदस्यहरूले दसैंअघि प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाई छठसम्म पनि संविधान संशोधनको विषयमा सरकारले पहल नगरेमा छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलनमा जाने बताएका थिए ।
छठसँगै राजपाले दिएको समयसीमा पनि सिद्धिएको छ । समय सिद्धिसकेको अवस्थामा राजपा आन्दोलनमा जानुको अर्को बाटो नभएको राजपाका अर्का महासचिव केशव झाको भनाइ छ ।
तपाईको प्रतिक्रिया