मधेशका नायक, मसीहा र महानायक अन्य कोही होइन, बल्कि प्रचण्ड घाममा आफ्नो घर र परिवारजनबाट हजारौं किलोमिटर टाढा विदेशमा आई मिहेनत गर्ने श्रमिकहरु नै हुन् । श्रमिकहरु छन् अनि मात्रै हामी छौं । श्रमिकहरुकै कारण आज हाम्रो घरमा चुल्हो चलिरहेको छ, मधेशको सांस चलिरहेको छ । मधेशका पालनहार तपाइँ श्रमिकहरु नै हुनुहुन्छ । तपाइँहरुलाई धेरै धन्यवाद ।
शहीद पार्क मात्रै होइन, श्रमिक पार्क पनि बन्नुपर्छ । जसले गर्दा जनतालाई श्रमको महत्व थाहा होस्, श्रमिकका दुःख पत्ता चलोस्, उनका बलिदानी पत्ता चलोस् । आफ्नो मुलुकबाट टाढा आफ्नो स्वजनहरुबाट टाढा आफ्नी प्यारी पत्नी र प्यारा–प्यारा बच्चाहरुबाट टाढा यस खाँडी मुलुकमा ५० डिग्री सेल्सियसमा ५०औं तल्लामा झुण्डिएर काम गर्ने हाम्रा मजदूरहरुको योगदानको सम्मान होस् ।
मधेशको अधिकार दिलाउनका लागि दुई सयभन्दा बढी शहीदहरुले बलिदानी दिएका छन् । तर, मधेशीहरुको घर–घरमा चूल्हो जलाउनका लागि आजसम्म हजारौं मधेशीहरुले त्याग गरेका छन् । कतारबाट नै हरेक वर्ष सयौं मधेशीहरुको शव आउने गरेका छन् ।
हामीले जुन सपना देखेका छौं कि मधेशमा कोही भूखा नरहोस्, कोही नंगा नरहोस्, कोही बच्चा स्कूल जानबाट वञ्चित नरहोस्, कोही स्वास्थ्य उपचारबाट वञ्चित नरहोस्, कोही भूमिहीन नरहोस्, कोही घरबारविहीन नरहोस्, हाम्रा भाई र बहिनीहरुलाई आफ्नो मातृभूमि छोडेर आफ्ना माता पितालाई छोडेर आफ्नी प्यारी श्रीमती र साना–साना बालबच्चालाई छोडेर विदेश मजदूरी गर्नका लागि विदेश जान नपरोस् ।
उनीहरुलाई स्वदेशमै रोजगारी मिलोस्, त्यो सपना पूरा गर्नका लागि जल, थल र नभ जुन बाटोबाट प्राप्त हुन्छ, त्यो पूरा गर्नका हामी कुनै कसर बाँकी राख्दैनौं । ज्यानको बाजी लगाएर खेल्दै आएका छौं र अन्तिम समयसम्म पर्यत्न गर्छौं तर, सपना पूरा गरेरै छाड्छौं । त्यसमा कुनै कसर बाँकी राख्दैनौं, तपाइँहरु निश्चिन्त रहनुस् ।
जब सेना कुनै युद्ध लड्न निस्किन्छन् भने जरुरी छैन कि सेनापतिले हरेक रणनीति आफ्ना सिपाहीहरुलाई बताओस् । युद्धमा उसैले विजय हासिल गरेका छन् जसमा सिपाहीहरुले आफ्ना सेनापतिमाथि आस्था र विश्वास बनाएर राख्छन् । हाम्रो विजय सुनिश्चित छ, यो हाम्रो जीवनको युद्ध हो ।
यहाँ कति जना हुनुहुन्छ जसले चाहनुहुन्छ कि तपाइँका बालबच्चा पनि फेरि यही आएर मजदूरी गरोस् ? हात उठाउनुस् । काही पनि हुनुहुन्न, मात्र मौनता छ । हरेक मानिस चाहन्छन् कि उसले स्वदेशमै रोजगारी मिलोस्, उनका बालबच्चा पनि उ जस्तै कडा घाममा हजारौं किलोमिटर टाढा मरुभूमिमा काम गर्न आउन नपरोस् ।
र, यो पनि तय छ कि तपाइँहरु पनि सधैं यही रहनुहुन्न । तपाइँलाई आफ्नो मुलुक फिर्ता आउनैपर्छ । जब युवावस्था गइहाल्छ, जब स्वास्थ्यमा समस्या आउँछ, जब काम गर्नका लागि योग्य रहनुहुन्न, जब यहाँ काम रोकिन्छ, तब मात्र तपाइँलाई फिर्ता आउनै पर्छ । अनि जब तपाइँलाई फिर्ता आउनै छ र तपाइँ आफ्नो बालबच्चालाई स्वदेशमै काम गर्न देख्न चाहनुहुन्छ भने यो जरुरी छ कि पहिला हामी त्यस्तो समाज बनाऔं । त्यस्तो अवसरको निर्माण आफ्नै भूमिमा गरौं ।
हामी सबै मात्र अरुलाई श्राप दिएर, अरुलार्य गाली गरेर, अरुलाई दोष देखाएर, नेता खतम् छन् भनेर, परिस्थितिलाई खराब भनेर, त्यसबाट टाढा भागेर, राजनीतिलाई फोहोर भनेर त्यसबाट टाढा बसेर त्यो पूरा हुनेवाला छैन । त्यो पूरा गर्नका लागि तपाइँहरु राजनीतिक रुपबाट सचेत हुनुपर्छ ।
वापस तपाइँको घरमा तपाइँको गाउँपालिका, नगरपालिकामा के भइरहेको छ त्यसको हिसाव किताब राख्नुपर्छ । तपाइँले राजनीतिप्रति जिज्ञासा राख्नुपर्छ । तपाइँले आफ्नो सामाजिक जिम्मेवारी उठाउनु पर्ने हुन्छ । तपाइँले नेतृत्व लिनुपर्छ र तपाइँले आफ्नो मुलुक आफै बनाउन लाग्नुपर्छ । र, हामी सबै मिलेर यो गर्न सक्छौं ।
संगठन नै शक्ति हो । तपाइँ मिलेर आफ्नो समृद्ध समाज बनाउने अवसर जनमत पार्टीले दिनका लागि तयार छ । त्यो प्लेटफार्म तपाइँलाई दिनका लागि जनमत पार्टी सदैव तयार छ । हामी सबै मिलेर आफ्नो समृद्ध समाज निर्माण गरौं जहाँ तपाइँका बालबच्चालाई फेरि खाँडी मुलुकमा आएर मजदूरी गर्न आउन नपरोस् । तपाइँलाई स्वदेशमै रोजगारी मिलोस्, तपाइँको वृद्धावस्था स्वदेशमै सुखी अवस्थामा कटोस् ।
जब मधेशभन्दा सानो यो मरुभूमिमा रहेको यो देश कतार तपाइँको आँखा अगाडि यति प्रगति गर्न सक्छ, पछिल्लो १०–२० वर्षमा नै तपाइँको आँखा अगाडि यति विकास गर्न सक्छ, आज २०औं लाख विदेशीहरुलाई रोजगारी दिन सक्छ भने हाम्रो भूमि त स्वर्गतुल्य छ । अनि हामी किन गर्न सक्दैनौं ?
हाम्रो भूमिमा एक तोरीका दाना पनि फाल्यौं भने त्यसमा हजारौं गुणा बढोत्तरी गरेर त्यो भूमि हामीलाई फिर्ता दिन्छ । २० फिट खाल्डो खन्छौं भने पिउनका लागि निर्मल कञ्चन पानी पाउँछौं । केही पनि गर्दैनौं तर पनि हराभरा जंगल आफै बन्छन् । यस्तो उर्बर हाम्रो भूमि छ ।
हामी त अवश्य गर्न सक्छौं, मात्र त्यसलाई समृद्ध बनाउनका लागि हामीलाई प्रण गर्नुपर्छ । संकल्प लिनुपर्छ र अब केही गर्नुपर्छ । समृद्ध राष्ट्रका लागि म तपाइँ सबैलाई आमन्त्रण गर्छु, निवेदन गर्छु । आऔं हामी सबै मिलेर आफ्नो समृद्ध र विकसित समाज निर्माण गरौं ।
जय मधेश, जय स्वराज ।
(गैर–आवासीय मधेशी संघको आयोजनामा दोहा कतारमा अगस्त १२ तारीखमा भएको सांस्कृतिक कार्यक्रममा जनमत पार्टी अध्यक्ष डा.सीके राउतले गरेको सम्बोधनका मुख्य अंश)
तपाईको प्रतिक्रिया