जनमत पार्टीको मुख्य उद्देश्य नै हो, जनमत तयार गर्ने हो । त्यसका लागि जनमत पार्टीले प्रत्येक वडादेखि नगरपालिका÷गाउँपालिकाहरूमा संगठन निर्माण गर्ने, जनतासँग मुखरित हुने, कन्भिन्स गर्ने र पार्टीको उद्देश्य बुझाउने लगायतका कामहरू गरिरहेको छ ।
सबभन्दा पहिला के प्रष्ट्याउन चाहन्छु भने पृथकतावादी आन्दोलन हाम्रो कहिल्यै पनि थिएन । खासमा हामी स्वतन्त्रता आन्दोलनमा थियौं । स्वतन्त्रता र पृथकता अलग–अलग चीज हो । अर्को कुरा हामी जनता माझ जाँदा जनताले हामीलाई सकारात्मकरूपमा लिएका छन् । जब कुनै पनि काम जनताका लागि गरिन्छ, त्यसमा जनताको प्रत्यक्ष सहभागिता नभइकन कुनै नेता वा दलले केही पनि गर्न सक्दैन ।
हामीले त्यही जनमत तयार गर्नका लागि जनतासँग साक्षात्कार हुने र संगठित गर्ने अभियानमा हामी लागेका छौं । हामीले छुट्टै राष्ट्रको कहिल्यै पनि माग नै गरेका छैनौं, हामीले स्वतन्त्रताको माग गरेका थियौं ।
स्वतन्त्रताको कुरा गर्नु र छुट्टै राष्ट्रको माग गर्नु अलग–अलग कुरा भयो । कोसँग छुट्टिने ? मधेशको आफ्नै पहिचान, भूगोल, संस्कृति, रितीरिवाज, भाषा लगायत सबैथोक छ । आफ्नो हुँदैमा अरूसँग छुट्टिने वा मिल्ने त्यो कुरै भएन । मधेशको आफ्नो भूगोल र अस्तित्व छ, त्यो प्रकृतिले दिएको हो । त्यसलाई कसैबाट हामीले छुट्याउने कुरा गरेकै होइन ।
‘स्वतन्त्र मधेश’ को मुद्दा जनमतको कुरा हो । जनताले नचाहेर केही पनि हुनेबाला छैन । जनताले चाहे भने जे पनि हुन सक्छ । मुलुकमा संघीयता आएको संघीयता जनताकै चाहना थियो । राज्यसत्ता सञ्चालकहरूले त कहिल्यै पनि संघीयता स्वीकार गरेकै थिएनन् । जनताले चाह्यो गणतन्त्र पनि आयो, राजा पनि गयो । जनमत जब तयार हुन्छ र जे जनादेश हुन्छ, त्यही हुन्छ । जनअभिमतलाई हामी कदर गर्छौं र त्यो जनअभिमत तयार भयो भने जनताले जे माग गर्छ त्यो पाउनुपर्छ ।
विगतमा हामीले जनताकै मागअनुसार स्वतन्त्र मधेशको नारा उठाएका हौं । यो बिल्कुल जनताको माग थियो र त्यसलाई कदर गर्दै अगाडि बढेका थियौं । हामी जनतासँग छौं ।
स्वतन्त्र मधेशको माग हामीले छाडेका छैनौं । हामीले छोड्न पनि मिल्दैन र हाम्रै मुद्दा हो भन्न पनि मिल्दैन । आवश्यकताअनुसार मान्छेले आफ्नो बाटो निर्धारण गर्दछ । कुनै भूमिलाई टुक्र्याउनु पनि मात्रै स्वतन्त्रता होइन । जहाँ मान्छे पीडित छन्, त्यसबाट मुक्ति पाउनु पनि स्वतन्त्रता हो ।
कोही मान्छे आफ्नो परिवारबाट किन छुट्न चाहन्छ ? जब उसले परिवारबाट आफ्नो आवश्यक्ता पूरा हुँदैन तब मात्रै छुट्टिनुपर्ने अवस्था आउँछ । स्वतन्त्रताको कुरा हावा तालमा सुरू हुँदैन । जब राज्यले दोहन गर्छ, अत्याचार गर्छ र शासकले जब बेइमानी गर्छ त्यसपछि स्वतन्त्रताको आवश्यक्ता आफै निर्माण हुन्छ ।
आवश्यक्ताकै कारणले एउटा देशबाट अर्को देश पनि निर्माण भएको छ । यदि सरकारले मधेशीका सबै समस्या समाधान गर्छ, भेदभाव अन्त्य हुन्छ भने किन स्वतन्त्रताको कुरा आउँछ ।
मधेशकेन्द्रित कसलाई दल भन्ने ? जहाँबाट मधेश आन्दोलनको यात्रा सुरू भयो, मधेशी जनअधिकार फोरमको मधेश पनि गयो र फोरम पनि गयो । अब कुन मधेशी दल छ ? सद्भावना पार्टी थियो त्यो पनि गयो । अहिले राजपा छ, त्यसको पनि कुनै ठेगान छैन । अब कसलाई मधेशी दल भन्ने ? मधेशी दल भनेको त मधेशसँग सम्बन्धित हुनुप¥यो नि । मधेशी शब्द राखेपछि न मधेशी दल हुन्छ ।
यो कुरा सही हो कि हाम्रो पार्टीमा पनि मधेश शब्द छैन । जनमत भनेर हामीले मधेश र पहाड भनेर संकेत गरेका छैनौं । त्यो जनमत हामी जहाँ संकलन गर्न जान्छौं त्यो हाम्रो सम्पत्ति हुनेछ । हामी कहाँ जनमत तयार गर्छौं, मूल कुरा त्यो हो । हाम्रो पार्टी मधेशकेन्द्रित नै रहनेछ । मधेशी जनतालाई हामीले सचेत गर्ने हो, जनजागरण अभियान चलाउने हो । त्यसमा हामी लागेका पनि छौं । हामीले हरेक दिन मधेशका वडादेखि विभिन्न पालिकाहरूमा संगठन निर्माण गर्दैछौं ।
हामी जुन घरमा बस्छौं, त्यहाँ सबैको ध्यान हुन्छ । त्यो विज्ञान सम्मत भनाइ पनि हो । हामी जुन प्रदेश र ठाउँमा बस्छौं त्यहाँका बेथितिहरू हामीले प्रत्यक्षरूपमा हेर्छौं । जुन चीज हामीले हेर्छौं त्यसको हामीले आलोचना गर्नुपर्छ । यसको मतलब डा.सीके राउतले कञ्चनपुर, झापा, नवलपरासीको कुरा छोड्नुभयो भन्ने होइन । उहाँको दृष्टि समग्ररूपमा पूरा देशमा छ । तर, जुन कुरा मान्छेले पहिला हेर्छ स्वाभाविकरूपले त्यसकै पहिलो प्रतिक्रिया आउँछ । त्यसमा हामीले अन्यथा लिनु हुँदैन ।
प्रदेश २ मा कमसेकम मधेशी दलको सरकार छ भने डा. सीके राउतले बारम्बार सचेत गराउनुभएको छ । उहाँले प्रदेश २ का लागि राम्रो हुने काम गर्न सल्लाह दिनुहुन्छ । तर, जनताको पक्षमा कुनै पनि राम्रो काम गर्न नचाहनेले त्यसको आलोचना त गर्नुपर्छ । डा.सीके राउतले प्रदेश २ को सरकारमाथि आक्रोश पोख्नुभएको होइन, सही बाटोमा हिंड्न घच्घचाउने काम गर्नुभएको छ । राउतले प्रदेश २ को सरकारलाई सचेत पार्न खोज्निु एको हो । डा.सीके राउत सित्तैमा कसैमाथि रिस पोख्ने मान्छे होइन ।
सबभन्दा पहिला हामीले यहाँका सत्ता सञ्चालकहरूको नियतलाई अढाइ सय वर्षदेखि हेर्दै आएका छौं । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच जुन सहमति भएको छ त्यसको अन्तिम बुँदामा लेखिएको छ कि यो सम्झौता आजैदेखि लागू हुनेछ । यसका लागि नेपाल सरकार बढी गम्भीर हुनुपर्छ । त्यो सम्झौतालाई नेपाल सरकारले तुरून्त पालन गरिदिनु पर्दथ्यो । त्यो अहिलेसम्म भइसकेको अवस्था छैन । तर, हामी मागहरू पूरा गर्ने सरकार तर्फबाट जुन कुराहरू आइरहेको छ त्यो बिल्कुल नकारात्मक पनि होइन । हाम्रा नेता कार्यकर्ताहरूमाथि लागेका कतिपय मुद्दाहरू फिर्ताको प्रक्रियामा गइसकेका छन् । कतिपयका मुद्दाहरू फिर्ता पनि भइसकेको छ ।
स्वतन्त्र मधेश गठबन्धनदेखि पार्टी निर्माणसम्म जो साथीहरू लागेका छन्, ती अन्य पदाधिकारी पद उनीहरूकै लागि हो । ती पदहरू बाहिरका कोही मान्छेका लागि होइन । यहाँ काम मुख्य कुरा हो । अब छिट्टै अन्य पदाधिकारीहरू पनि मनोनित हुन्छन् ।
(जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश महतोसँग गरिएको कुराकानीमा आधारित)
तपाईको प्रतिक्रिया